माघ ६ गते राष्ट्र बैंकले ६० अर्ब रुपैयाँको २१ दिने निक्षेप संकलन बोलकबोल आह्वान गर्यो। ‘क’, ‘ख’ र ‘ग’ वर्गको ईजाजत प्राप्त बैंक वित्तिय संस्थाहरुले मात्रै आवेदन दिन पाउने सो बोलकबोलमा ५५ अर्ब २५ करोड रुपैयाँ बराबरको मात्रै आवेदन पर्यो। सो बोलकबोलमा उच्चतम ३% र न्यूनतम २.९८% ब्याजदर कायम भएको थियो। २१ दिने सो बोलकबोल माघ २७ गते परिपक्व भएको छ। सो बोलकबोल परिपक्व हुँदै गर्दा बैंक वित्तिय संस्थाहरुलाई तरलता व्यवस्थापनमा सहज होस् भन्ने हेतुले राष्ट्र बैंकले २७ गते नै ३० अर्बको निक्षेप संकलन बोलकबोल आह्वान पनि गरिसकेको छ।

माघ ६, माघ ९, माघ १३, माघ १५, माघ २० र माघ २३ मा आह्वान गरिएको निक्षेप बोलकबोलमा बैंक वित्तिय संस्थाहरुले २ खर्ब १४ अर्ब ७५ करोड रुपैयाँ राष्ट्र बैंकमा जम्मा गरेका छन्। यो मध्येको ५५ अर्ब २५ करोड रुपैयाँ माघ २७ गते परिपक्व भएको हो। यी सबै बोलकबोलको उच्चतम ब्याजदर ३% रहेको छ भने न्यूनतम ब्याजदर २.९७२२% रहेको छ।

राष्ट्र बैंकले बैंक वित्तिय संस्थाहरुमा अधिक रहेको तरलता प्रशोचन गर्ने दुई माध्यमहरु छन्।
१. निक्षेप संकलन बोलकबोल आह्वान
२. स्थायी तरलता सुविधा (स्ट्याण्डिङ्ग लिक्विडिटि फ़्यासिलिटी)
स्थायी तरलता सुविधा अन्तर्गत बैंक वित्तिय संस्थाहरुले ३ दिनका लागि राष्ट्र बैंकमा पैसा राख्न पाउँछन् जसमा राष्ट्र बैंकले ३% ब्याज दिने गर्दछ। यतिबेला बैंक वित्तिय संस्थाहरुले स्थायी तरलता सुविधा अन्तर्गत ४२ अर्ब ४० करोड रुपैयाँ रकम राष्ट्र बैंकमा राखेका छन्। निक्षेप संकलन बोलकबोल र स्थायी तरलता सुविधा गरी बैंक वित्तिय संस्थाहरुले राष्ट्र बैंकमा राखेको कुल रकम २ खर्ब ५७ अर्ब १५ करोड रुपैयाँ रहेको छ। निक्षेप बोलकबोलमा पनि राष्ट्र बैंकले ३% भन्दा बढी ब्याज राखेर गरिएका बिड स्वीकार गरेको देखिएको छैन। यसरी अहिलेको अवस्थामा बैंकहरुले करिब २ खर्ब ५७ अर्ब रुपैयाँ ३% ब्याजदरमा राष्ट्र बैंकमा जम्मा गरेको देखिएको छ। कमर्सियल बैंकहरुले प्रकाशित गरेको दोश्रो त्रैमासको रिपोर्ट अनुसार औसतमा वाणिज्य बैंकहरुको कस्ट अफ फण्ड ५% भन्दा माथि नै देखिन्छ। २०८० पुषमा औसतमा ७% हाराहारीमा रहेको कस्ट अफ फण्ड घटेर २०८१ पुषमा ५% आसपासमा आईपुगेको हो। कर्जा प्रवाह हुन नसक्दा बैंकहरुमा तरलता फालाफाल भएको अवस्था छ। कस्ट अफ फण्ड घटेर बैंक वित्तिय संस्थाहरुलाई केहि राहत भए तापनि ठूलो रकम ३% ब्याजमै जम्मा गर्नुपर्ने वाध्यतामा बैंक वित्तिय संस्थाहरु रहेका छन्।


प्रतिकृया