बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले आज फेरि ४० अर्ब रुपैयाँ तान्दै

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ९ गते
बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले आज फेरि ४० अर्ब रुपैयाँ तान्दै

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्ने भएको छ। केन्द्रीय बैंकले १६० दिनका लागि ४० अर्ब रुपैयाँ बजारबाट तान्ने तयारी गरेको हो।

हाल कर्जाको माग अपेक्षित रूपमा नबढ्दा बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएको छ। यसका कारण बैंकहरूले केन्द्रीय बैंकलाई नै करिब ३ प्रतिशत ब्याजदरमा रकम उपलब्ध गराइरहेका छन्।

तरलता व्यवस्थापन र ब्याजदर स्थिर राख्ने उद्देश्यले राष्ट्र बैंकले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत बजारबाट पैसा खिच्दै आएको छ। यसपटकको बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

बोलकबोलमा सहभागी संस्थाले प्रस्ताव गरेको ब्याजदरका आधारमा न्यूनतम दरलाई प्राथमिकता दिँदै रकम बाँडफाँड गरिनेछ। न्यूनतम बोल रकम १० करोड रुपैयाँ तोकिएको छ भने कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ।

१६० दिने यो उपकरणको साँवा तथा ब्याज आगामी असोज २१ गते भुक्तानी गरिनेछ। खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार दीर्घकालीन तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आवश्यक परेमा अधिकतम ६ महिनासम्मको निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ, जसअनुसार यो कदम चालिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स