टर्कीले जर्मन खेलकुद सामग्री निर्माता एडिडासलाई १५ हजार अमेरिकी डलर जरिवाना गरेको छ। कम्पनीले आफ्नो चर्चित जुत्ता “साम्बा ओजी” छालाबाट बनेको भन्दै प्रचार गरे पनि त्यसमा सुँगुरको छाला प्रयोग भएको जानकारी नदिएको भन्दै टर्कीको विज्ञापन नियामक निकायले कारबाही गरेको हो।
मुस्लिम बाहुल्य मुलुक टर्कीमा धार्मिक संवेदनशीलता ध्यानमा राख्दै यस्ता सामग्रीबारे स्पष्ट जानकारी दिनुपर्ने नियम रहेको छ। यही कारण एडिडासलाई ५ लाख ५० हजार टर्किस लिरा (झण्डै १५,२०० अमेरिकी डलर) जरिवाना गरिएको छ। कम्पनीले आफ्नो वेबसाइटमा सामग्रीको विवरण अपडेट गरेको बताएको छ तर जरिवानाबारे कुनै प्रतिक्रिया दिएको छैन।
सन् २०२० मा टर्कीको धार्मिक मामिला निकायले सुँगुरको छालाबाट बनेका सामग्री इस्लाम धर्मअनुसार प्रयोग गर्न नपाइने निर्णय गरेको थियो। उक्त संस्थाले एक विज्ञप्तिमा उल्लेख गरे अनुसार सुँगुरको छालालाई कुनै पनि प्रक्रियाबाट शुद्ध बनाउन नसकिने धार्मिक विद्वानहरूको मत छ।
पछिल्ला वर्षहरूमा चर्चित मोडेलहरू केन्डल जेनर र बेला हदीद ले यो जुत्ता लगाएको देखिएको थियो। एडिडासले यो जानकारी नदिएको भन्दै कारबाही गरिएको हो। एएफपी मिडियाले एडिडाससँग प्रतिक्रिया माग्दा कम्पनीले तत्काल कुनै टिप्पणी गरेको छैन।


















![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)


प्रतिकृया