एसियाली विकास बैंक (एडिबी)ले नेपालमा तीनवटा परियोजनाका लागि रु. एक खर्ब पाँच अर्ब ६१ करोड सहयोग उपलब्ध गराउने भएको छ। यसमध्ये, रु. छ अर्ब ५२ करोड अनुदान हुनेछ भने बाँकी रकम सहुलियतपूर्ण ऋणका रूपमा प्रदान गरिनेछ।
सहयोग रकम दोस्रो चरणको काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण परियोजना, र समावेशी विकास कार्यक्रम कार्यान्वयन गर्न उपयोग गरिनेछ।
अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा यस सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थसचिव डा. रामप्रसाद घिमिरे र एडिबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरे।
सो अवसरमा सचिव घिमिरेले नेपालको सामाजिक र आर्थिक विकासमा एडिबीको निरन्तर सहयोगका लागि कृतज्ञता व्यक्त गरे। निर्देशक कोश्वाले कृषि, प्राकृतिक स्रोत, ग्रामीण विकास, ऊर्जा, सार्वजनिक क्षेत्र व्यवस्थापन, खानेपानी, तथा सहरी पूर्वाधार निर्माणमा एडिबीले नेपाललाई समर्थन गर्दै आएको उल्लेख गरे।















प्रतिकृया