प्रत्येक घरलाई ५० युनिट बिजुली निःशुल्क

प्रत्येक घरलाई ५० युनिट बिजुली निःशुल्क
Representative Image

सङ्घीय सरकारले आगामी आर्थिक वर्षदेखि १०० युनिटमाथि पाँच प्रतिशत विद्युत्मा कर लगाउने तयारी गरेका बेला यहाँ मनाङ जिल्लासँग सिमाना जोडिएको लमजुङको मस्र्याङ्दी गाउँपालिकाले भने स्थानीयलाई मासिक निःशुल्क बिजुली उपलब्ध गराउने भएको छ ।

मस्र्याङ्दी गाउँपालिकाले पालिकाका स्थानीयलाई आगामी आवदेखि प्रत्येक घरलाई मासिक ५० युनिटसम्म विद्युत् निःशुल्क दिने भएको हो । मस्र्याङ्दीले आगामी आवको नीति तथा कार्यक्रममा प्रत्येक घरलाई ५० युनिट विद्युत् निःशुल्क प्रस्ताव गरेर २१औँ गाउँसभाले पारित गर्दै लागू गर्न लागेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनका अनुसार गाउँपालिकाले आगामी आवको नीति तथा कार्यक्रममा ‘जलविद्युतको आम्दानी, उज्यालो मस्र्याङ्दीमा लगानी’ कार्यक्रमअन्तर्गत उपभोक्ताले मासिक ५० युनिटसम्मको विद्युत् महसुल निःशुल्क पाउने व्यवस्था गरेको हो । यसका लागि गाउँसभा बाट रु ५५ लाख बजेट विनियोजन गरिएको अध्यक्ष गुरुङले बताए ।

गाउँपालिकाका अनुसार पालिकाका नौवटै वडामा गरी चार हजार ४०९ घरपरिवार रहेका छन् । गाउँपालिकाले आगामी आवमा विद्युत् रोयल्टीबाट करिब रु चार करोड आम्दानी हुने अनुमान गरेको छ । पालिकाभित्रका हाइड्रोपावरबाट आएको रोयल्टीमध्येबाट उक्त युनिटसम्मको बिजुली गाउँपालिकाले बिजुली महसुल तिर्ने व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले जानकारी दिए ।

यस गाउँपालिकाभित्र ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’, ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनासहित आठवटा  विभिन्न आयोजनाबाट करिब १०० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । बेँसीसहर नगरपालिकासँग जोडिनेगरी ५० मेगावाटको मस्र्याङ्दीबेँसी जलविद्युत्लगायतका आयोजना निर्माणाधीन अवस्थामा छन् । उत्पादन बढेसँगै गाउँपालिकाको रोयल्टी आम्दानी पनि बढ्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष गुरुङका स्वकीयसचिव तथा स्थानीय प्रदीप गुरुङले गाउँपालिकाले लागू गर्न लागेको स्थानीयलाई निःशुल्क ५० युनिटसम्मको बिजुली गाउँपालिकाका ९० प्रतिशत नागरिकले सो युनिटभन्दा पनि कम बिजुली बाल्ने गरेको बताए । पालिकामा अधिकांश ग्रामीण क्षेत्र रहेकाले उद्योगधन्दा न्यून छ, बिजुलीको प्रयोग पनि कम हुँदा उक्त प्रतिशतका स्थानीयले सम्भवतः एक रुपैयाँ पनि महसुल खर्च गर्नु नपर्ने देखिएको उनको भनाइ छ ।

हालसालै सम्पन्न मस्र्याङ्दी गाउँपालिकाको २१औँ गाउँसभा बैठकले आव २०८३/८४ का लागि रु ६८ करोड ७३ लाख १८ हजार ५०० को बजेट सार्वजनिक गरेको छ । यस गाउँपालिकामा १८ हजार ७५९ जनसङ्ख्या रहेको गाउँपालिकाले जनाएको छ । ५० युनिटसम्म बिजुली निःशुल्क हुने भएपछि स्थानीय हर्षित भएका छन् ।


Discover more from BAJARKO CHIRFAR

Subscribe to get the latest posts sent to your email.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स