आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको सत्ता साझेदार दलहरुको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमका विषयमा छलफल हुने भएको छ। सरकार गठन भएको करिब २ महिना हुन लाग्दै गर्दा पनि गठबन्धनको न्यूनतम साझा कार्यक्रम समेत सार्वजनिक हुन नसक्नुलाई राजनीतिक र कुटनीतिक वृत्तमा सत्ता साझेदार दलहरुको कमजोर आन्तरिक समीकरणका रुपमा व्याख्या गरिन थालिएकाले सकेसम्म छिटो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने दवाबमा सरकार रहेको छ।
आजको बैठकले सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल गठन गर्नसक्ने सम्भावना रहेको एक एमाले नेताले बजारको चिरफारलाई बताए। सम्भवत: माननीय अर्थमन्त्रीज्यूको नेतृत्वमा कार्यदल गठन हुनसक्ने बताउँदै ओली नेतृत्वको सरकार बनेपछि निराशाजनक अवस्थामा रहेको अर्थतन्त्र सुध्रिदै गएको पनि उनको दावी छ।
आफ्नो नेतृत्वको सरकार बनेपछि पूँजी बजारमा आएको उछालबाट प्रधानमन्त्री ओली निकै उत्साहित रहेको र सरकारको न्यूनतम साझा कार्यक्रममा पनि पूँजी बजारले उच्च प्राथमिकता पाउने पनि ती एमाले नेताको दावी रहेको छ। त्यस्तै आवश्यकता अनुसार संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधार लगायतका कुराहरु समेत न्यूनतम साझा कार्यक्रममा समेटिन सक्ने देखिएको छ। यतिबेला सरकारको उच्च प्राथमिकताको विषय चाहिँ आर्थिक सुधार नै हो जसका लागि सरकारलाई सुझाव दिन एक उच्चस्तरिय आयोग बनाउने कुरा पनि साझा कार्यक्रममा समेटिन सक्ने कुरा ती नेताले बजारको चिरफारसंग बताए।
असार ३१ गते गठन बहेको सरकारमा नेकपा एमालेका साथै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी छन्।














प्रतिकृया