जहाँ रहे पनि मतदान गर्न पाउने वातावरण बनाउन प्रयास हुनेछ : प्रधानमन्त्री ओली

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १९ गते
जहाँ रहे पनि मतदान गर्न पाउने वातावरण बनाउन प्रयास हुनेछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली नागरिकहरूले जहाँ बसे पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। काठमाडौंमा आयोजित दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायको मञ्च (फेम्बोसा) को १२ औं सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् । उनले हरेक निर्वाचनले जनताको इच्छा र आकाङ्क्षालाई प्रतिबिम्बन गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताए ।

कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ । यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘बसाइँ सराइ, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश-विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउन हामीले साझा प्रयास गर्न आवश्यक छ ।’ उनले हिमाल पग्लिने, समुद्रको तापक्रम बढ्ने जस्ता जलवायु परिवर्तनका प्रतिकूल प्रभावले मानव जीवनमा पार्ने असरलाई ध्यानमा राख्दै, लोकतन्त्रको अभिन्न अंगका रूपमा निर्वाचन प्रक्रियालाई निरन्तर अगाडि बढाउनु सबैको साझा दायित्व भएको उल्लेख गरे।

सामाजिक सञ्जालले मतदातालाई सुसूचित गर्न सघाउनुका साथै  मिथ्या सूचना, गलत सूचना र घृणास्पद अभिव्यक्तिहरूको प्रवाह गर्ने जोखिमलाई पनि प्रधानमन्त्रीले औंल्याए। विगतका कमजोरीबाट सिक्दै, लोकतान्त्रिक मूल्यका साथ स्वच्छ, स्वतन्त्र, जवाफदेही र पारदर्शी निर्वाचनको आवश्यकता रहेको प्रधानमन्त्री ओलीले बताए।

सम्मेलनमा, भूटानको निर्वाचन आयोगका प्रमुख आयुक्त दासो सोनाम तोब्गेले नेपालको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई फेम्बोसाको नेतृत्व हस्तान्तरण गरे। सम्मेलनमा नेपालसहित भारत, भूटान, श्रीलंका, माल्दिभ्स लगायतका मुलुकका प्रमुख निर्वाचन आयुक्त र प्रतिनिधिहरू सहभागी थिए। यसअघि, फेम्बोसाको ११ औं सम्मेलन दुई वर्षअघि भर्चुअल रूपमा भूटानको नेतृत्वमा सम्पन्न भएको थियो।

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स