कुन बैंकसङ्ग कति छ सेयर ?
राष्ट्र बैंकले २०७८ जेठ ११ गते एक सर्कुलर जारी गर्दै बैंक तथा वित्तिय संस्थाहरुलाई संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न रोक लगायो। सो सर्कुलर मार्फत खरिद गरेको १ वर्ष व्यतित नभई लगानी बेच्न नपाउने व्यवस्था गर्दै १ वर्ष व्यतीत भईसकेको लगानी पनि १ आर्थिक वर्षमा आफ्नो प्राथमिक पूँजीको १% मात्रै बेच्न पाईने व्यवस्था सो सर्कुलरको बुँदा नम्बर ८ मा गरियो। सोहि सर्कुलर मार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक वित्तिय संस्थाहरुले लघुवित्त कम्पनीहरुको सेयर खरिद गर्न नपाईने व्यवस्था समेत राष्ट्र बैंकले गर्यो।
शुक्रबार प्रकाशित मौद्रिक नीतिको समीक्षा मार्फत राष्ट्र बैंकले ३ वर्षअघि गरिएको सो व्यवस्थामा केहि परिवर्तन गरेको छ। संगठित संस्थाको सेयर खरिद गरेको १ वर्ष व्यतीत नभई बेच्न नपाईने व्यवस्थालाई यथावत् राखिएको छ भने १ आर्थिक वर्षमा प्राथमिक पूँजीको १% मात्रै बेच्न पाईने यसअघिको व्यवस्थालाई परिवर्तन गर्दै १ आर्थिक वर्षमा प्राथमिक पूँजीको २०% सम्म बेच्न पाईने व्यवस्था गरिएको छ।
यो व्यवस्थाले सेयर बजारमा कस्तो प्रभाव पार्न सक्छ भन्ने विषयमा विभिन्न टिका टिप्पणीहरु भईरहेका छन्। केहि बैंकरहरु यो व्यवस्थाले सेयरको आपूर्ती बढ्न जाने र त्यसले सेयर बजारमा गिरावट ल्याउने तर्क गरिरहेका छन् भने केहि चाहिँ यो व्यवस्था राष्ट्र बैंकले सेयर बजारमा कर्पोरेट प्लेयरहरु छिराउन ल्याएको र यसले सेयरको माग बढ्ने तर्क गर्छन। नेपाल बैंकर्स संघका एसोसियसनका अध्यक्ष एवम् एनएमबी बैंकका प्रमूख कार्यकारी अधिकृत सुनिल केसी बैंकहरु ट्रेडिङ्गमा रमाए भनेर यसअघि राष्ट्र बैंकले अल्पकालीन लगानीलाई निरुत्साहित गरेको तर अब भने बजारमा कर्पोरेट प्लेयरहरु भित्र्याउन खोजेको रुपमा आफूले यो नीतिलाई हेरेको बताउँछन्। यो नीतिले १ वर्ष हाराहारीको अल्पकालीन लगानीमा बैंक वित्तिय संस्थाहरु आकर्षित हुने उनको बुझाई छ। उता नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली भने यो नीतिले सेयरको आपूर्ति बढाउने र सेयर बजारका लागि सकारात्मक नभएको तर्क गर्छन। फेसबुकमा स्ट्याटस लेख्दै ज्ञवालीले भनेका छन् : ‘शेयर खरिद गर्न पाउने व्यवस्थामा परिवर्तन नभई बिक्री मात्र गर्न दिने व्यवस्थाले शेयर बजारमा सप्लाई बढाउँछ । बैकहरुले लगानीबाट बाहिरिने मौका पाउँछन तर यसको असर शेयर बजारमा सकारात्मक हुने देर्खिदैन ।’
कति छ बैंकहरुसंग सेयर ?
राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार १ वर्ष व्यतीत नभई बैंक वित्तीय संस्थाहरुले सेयर बेच्न पाउँदैनन्। २०८० को जेठअघि किनिएका सेयर मात्रै अहिले बेच्न पाइन्छ। २०८० को असार मसान्त (आर्थिक वर्ष २०७९/८०) सम्ममा कुन कमर्सियल बैंकले कति सेयर होल्ड गरेका छन् भन्ने तथ्याङ्क यहाँ प्रस्तुत गरिएको छ। कमर्सियल बैंकहरुले प्रकाशित गरेका आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनलाई आधार मानी यो अध्ययन गरिएको हो।
कमर्सियल बैंकहरुले होल्ड गरेको प्रोमोटर सेयर, साधारण सेयर र म्युचुअल फण्डलाई अलग्गै राखिएको छ। २०८० को असार मसान्तसम्ममा ती बैंकहरुले धारण गरेको कित्तालाई जेठ ३ गते (बिहिबार) नेपाल स्टक एक्सचेन्जको वेब साइटमा उल्लेखित अन्तिम मुल्यले गुणान गरी मौद्रिक मुल्यांकन (कति रकम बराबरको सेयर होल्ड गरेको छ) प्रस्तुत गरिएको छ।
प्रभु बैंकले सबैभन्दा धेरै सेयर धारण गरेको देखिन्छ। २०८० को असार मसान्तमा प्रभु बैंकसंग ६ अर्ब ६३ करोडको सेयर होल्ड रहेको देखिन्छ। दोस्रो नम्बरमा नबिल बैंक छ। उसले ६ अर्ब २६ करोडको हाराहारीमा सेयर होल्ड गरेको देखिन्छ। ५ अर्बभन्दा बढी सेयर होल्ड गर्ने ५ बैंकहरु छन् जसमा प्रभु, नबिल, लक्ष्मी सनराइज, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एनआईसी एसिया बैंक छन्। सबैभन्दा कम सेयर धारण गर्नेमा सिद्धार्थ बैंक रहेको छ। सिद्धार्थले २०८० को असार मसान्तमा ११ करोडको मात्रै सेयर धारण गरेको देखिन्छ। कम सेयर धारण गर्ने सूचीको दोश्रो नम्बरमा माछापुछ्रे बैंक छ जसले १९ करोड रुपैयाँको सेयर धारण गरेको देखिन्छ। ६ वटा कमर्सियल बैंकहरुले १ अर्बभन्दा कम रकम बराबरको सेयर धारण गरेको देखिएको छ।
२०८० को असार मसान्त सम्ममा १९ कमर्सियल बैंकहरुले धारण गरेको संगठित संस्थाहरुको प्रोमोटर सेयरको हालको मूल्य करिब २३ अर्ब हुन आउँछ। त्यस्तै साधारण सेयर करिब १४ अर्ब रुपैयाँ र म्युचुअल फण्ड करिब ११ अर्ब रुपैयाँ हुन आउँछ। प्रोमोटर, साधारण र म्युचुअल गरी जम्मा ४८ अर्ब रुपैयाँ हाराहारीको सेयर धारण गरेको देखिन्छ।
बैंक तथा वित्तिय संस्थाहरुले आफ्नो प्राथमिक पूँजीको ३०% रकम बराबर मात्रै संगठित संस्थाको सेयर, सामूहिक लगानी कोष र डिबेञ्चरमा लगानी गर्न पाउने व्यवस्था छ। राष्ट्र बैंकले प्रकाशित गरेको २०८० पुषको तथ्याङ्क अनुसार कमर्सियल बैंकहरुको प्राथमिक पूँजी ५२९ अर्ब रुपैयाँ छ। त्यसको ३०% भनेको १५८ अर्ब हुन आउँछ। कमर्सियल बैंकहरुले २०८० को असार मसान्तसम्ममा करिब ४८ अर्ब रुपैयाँ बराबरको सेयर (म्युचुअल फण्ड सहित) धारण गरेको देखिन्छ।
* एक करोडभन्दा तलको लगानी उल्लेख गरिएको छैन।
सोही तथ्याङ्क ग्राफमा :