आम्दानीको बलियो स्रोत बन्दै भुइँकटहर खेती, बारीमै पुग्छन् व्यापारी

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण २२ गते
आम्दानीको बलियो स्रोत बन्दै भुइँकटहर खेती, बारीमै पुग्छन् व्यापारी

बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् । स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्याउन हिजोआज व्यस्त छन् । पहाडी क्षेत्रअन्तर्गत पर्ने यो गाउँका किसानका लागि भुइँकटहर आम्दानीको बलियो स्रोत बनेको छ ।

बन्दीपुरका तुलबहादुर फालमगरले करिब तीन हेक्टर पहाडी पाखोमा भुइँकटहर लगाएका छन् । गत वर्ष खर्च कटाएर रु दुई लाख ५० हजार आम्दानी गरेका उनले यस वर्ष भुइँकटहर राम्रो भएकाले रु तीन लाख बढी आम्दानी हुने बताए ।

‘गत वर्षभन्दा यस वर्ष राम्रो भुइँकटर फलेको छ, भाउ पनि राम्रो छ, यसपालि आम्दानी बढ्ने देखिएको छ,’ उनले भने ।

भुइँकटरलाई वर्षमा एकपटक मात्र गोडमेल गरे पनि राम्रो आम्दानी लिन सकिने उनको अनुभव छ । रेखदेख राम्रो गरे फल पनि राम्रो लाग्ने उनले बताए । अन्य बाली लगाउँदा खासै केही नहुने पहाडी पाखोमा भुइँकटर आम्दानीको बलियो स्रोत बनेको उनको भनाइ छ । ‘यस पाखोमा अरु लगाएर खासै केही हुँदैनथ्यो, भुइँकटहरले राम्रो आम्दानी दिएको छ, माग पनि राम्रो छ,’ तुलबहादुरले भने ।

अहिले भुइँकटर प्रतिगोटा रु ५५ देखि रु एक सयसम्ममा बिक्री गर्ने गरेको बताउँदै भुइँकटर लिन व्यापारीहरू गाउँमै आउने गरेको उनले बताए । पहिले बन्दीपुरसम्म यातायातको सुविधा नहुँदा डोकोमा स्थानीय बजार पुर्याउनुपर्ने बाध्यता रहेकामा अहिले त्यो बाध्यता हट्नाले थप सुविधा भएको अर्का किसान होमबहादुर दिसुवाले बताए ।

गत वर्षसम्म बन्दीपुरसम्म यातायातको पहुँच नहुँदा बर्खामा भुँइकटहर बजार पुर्याउन समस्या हुने गरेकामा अहिले कालोपत्र सडक गाउँ पुग्दा बजारीकरणमा सुविधा भएको उनले बताए ।

गण्डकी प्रदेश सरकारको लागनीमा मुण्डे–कीर्तिपुर–बन्दीपुर सडक कालोपत्र भएपछि उत्पादन भएको भुइँकटर नारायणगढ, बुटवल, भैरहवासम्मका व्यापारीले गाउँमै आएर खरिद गरी लैजाने गरेको उनले बताए । एक हेक्टर क्षेत्रमा भुइँकटर लगाएका होमबहादुर यसको बिक्रीबाट आउने आम्दानीले घरखर्च चलाउन सहज हुने उनको भनाइ छ ।

बन्दीपुरका करिब ४० घरपरिवार सबैले भुइँकटर लगाएका छन् । दुई याममा उत्पादन हुने भुइँकटहर त्यहाँका स्थानीयको आम्दानीको स्रोत बनेको छ । पाकेपछि सिधैँ बजारमा नगदमा बिक्री हुने हुँदा यसको खेतीमा यहाँका स्थानीयको आकर्षण बढेको छ । गत वर्षमात्र यहाँका किसानले करिब रु ५० लाखबराबरको भुइँकटहर बिक्री गरेको तुलबहादुरले बताए ।

देवचुली नगरपालिकाअन्तर्गत पर्ने बन्दीपुर गाउँमा राम्रो भुइँकटर उत्पादन हुने भएकाले यस गाउँलाई भुइँकटहरको पकेट क्षेत्र निर्माण गर्ने गरी चालू आर्थिक वर्षमा कार्यक्रम तय गरिएको देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले बताए । बन्दीपुरको भुइँकटहर बजारीकरणका लागि पालिकाले सहयोग गर्दै आएको र अन्य सङ्घसंस्थासँग मिलेर किसानलाई भुइँकटहरखेतीतर्फ आकर्षित गर्नेगरी काम गरिने उनले बताए । भुइँकटरकै माध्यमबाट बन्दीपुरका स्थानीयको आर्थिक विकास गर्न सकिने भएकाले यसलाई लक्षित गरी काम गरिने नगरप्रमुख न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स