प्रधानमन्त्री शाहको प्रतिबद्धता– राम्रो काम गर्नेलाई प्रोत्साहन, पुँजी बजारमा गल्ती गर्नेलाई शून्य सहनशीलता

प्रधानमन्त्री शाहको प्रतिबद्धता– राम्रो काम गर्नेलाई प्रोत्साहन, पुँजी बजारमा गल्ती गर्नेलाई शून्य सहनशीलता

प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई विशेष प्राथमिकतामा राखेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पुँजी बजारका सरोकारवाला संस्था तथा नियामक निकायका प्रतिनिधिसँग भएको छलफलमा उनले पुँजी बजारमार्फत उद्यमशीलता विस्तार र रोजगारी सिर्जना सरकारको मुख्य लक्ष्य रहेको स्पष्ट पारे।

पुँजी बजारलाई व्यावसायिक, मर्यादित र विश्वासयोग्य बनाउन आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे। राम्रो काम गर्नेलाई सरकारले निरन्तर प्रोत्साहन गर्ने तर अनियमितता र गलत काममा संलग्न हुनेप्रति ‘शून्य सहनशीलता’ अपनाइने उनको भनाइ थियो।

छलफलका क्रममा पुँजी बजारका प्रतिनिधिहरूले बजारको दिगो विकासका लागि कानुनी, नीतिगत, संस्थागत र प्रणालीगत सुधार आवश्यक रहेको धारणा राखे। उनीहरूले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रणालीमा सुधार, दोस्रो बजारमा माग–आपूर्तिको सन्तुलन कायम गरी उचित मूल्य निर्धारण प्रणाली विकास तथा दैनिक कारोबार रकम ३० अर्ब रुपैयाँभन्दा माथि पुर्‍याउने वातावरण बनाउन सरकारसँग आग्रह गरे।

उनीहरूले बैंक तथा वित्तीय संस्थामार्फत ब्रोकर कम्पनीलाई मार्जिन कारोबारका लागि कर्जा प्रवाह सहज बनाउन नेपाल राष्ट्र बैंकले आवश्यक कदम चाल्नुपर्ने सुझाव पनि दिए। साथै, बैंक तथा वित्तीय संस्थाले धितोपत्रमा गरेको लगानी कम्तीमा छ महिनासम्म बिक्री गर्न नपाउने व्यवस्था हटाउन तथा सेयर धितो कर्जाको सीमा प्राथमिक पुँजीसँग नभई कुल कर्जाको पाँच प्रतिशत कायम गर्नुपर्ने माग राखे।

अर्थ मन्त्रालयले व्यक्तिगत कारोबारमा हुने नोक्सानीमा कर समायोजनको व्यवस्था गर्नुपर्ने, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषलाई दोस्रो बजारमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने, नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रणनीतिक साझेदारसहित पुनर्संरचना गर्नुपर्ने तथा गैरआवासीय नेपाली (एनआरएन) लाई नेपालको पुँजी बजारमा लगानी गर्न बाटो खुला गर्नुपर्ने माग पनि सरोकारवालाले अघि सारे।

छलफलमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका प्रतिनिधि सन्दीप जलान, नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, पुँजी बजार समितिका सभापति प्रियराज रेग्मी तथा लगानीकर्ता अम्बिकाप्रसाद पौडेल सहभागी थिए।

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्टले सरोकारवालाका सुझावलाई समेट्दै आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीति तथा ‘नेपालको पुँजी बजार मार्गचित्र २०८३’ लागू गरिसकिएको जानकारी दिए। ती नीतिअनुसारका कार्यक्रम चरणबद्ध रूपमा कार्यान्वयन भइरहेको पनि उनले बताए।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्सालले बैंक तथा वित्तीय संस्था, बीमा र पुँजी बजारसँग सम्बन्धित आवश्यक कानुनको तर्जुमा तथा संशोधन प्रक्रिया सुरु भइसकेको बताए। नेप्सेको पुनर्संरचनाका लागि उपयुक्त मोडालिटी तय गरी अघि बढाइने र सेबोनले जारी गरेका नीतिअनुसार प्रणाली विकास गर्दै धितोपत्र कारोबारलाई थप प्रभावकारी र व्यवस्थित बनाइने प्रतिबद्धता उनले व्यक्त गरे।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स