नेपालमा विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी: एमएडब्लू वृद्धिले सार्वजनिक गर्यो दिपल ई०७
नेपाली अटोमोबाइल बजारमा पहिलोपटक विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी सार्वजनिक भएको छ। एमएडब्लू वृद्धिले चीनको प्रतिष्ठित अटोमोबाइल कम्पनी चांगानको उत्पादन दिपल ई०७ नेपाली बजारमा भित्र्याएको हो।
दिपल ई०७ को मुख्य विशेषता यसको बहुउपयोगी डिजाइन हो। यो गाडी एक बटन थिचेर एसयूभीबाट पिकअप ट्रकमा रूपान्तरण हुन्छ। यो गाडीलाई एसयूभी, पिकअप, क्याम्पिङ भ्यान र रेक्रिएसनल भेइकल जस्ता चार फरक मोडमा सजिलै रूपान्तरण गर्न सकिन्छ। यस्तो प्रविधिसहितको गाडी नेपालमा पहिलोपटक उपलब्ध भएको हो। कम्पनीका अनुसार यो गाडीले फ्युचरिस्टिक डिजाइन र लक्जरियस अनुभवको उत्कृष्ट संयोजन प्रस्तुत गर्दछ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, चांगान अटो एसिया प्यासिफिकका उपाध्यक्ष गुआन जिन, र एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा दिपल ई०७ सार्वजनिक गरे।
दिपल ई०७ ‘रियर ह्विल ड्राइभ’ र ‘अलह्विल ड्राइभ’ भेरियन्टमा उपलब्ध छ। रियर ह्विल ड्राइभमा १९० किलोवाटको मोटर जडान गरिएको छ, जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्छ। यसमा ८९.९ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ, जसले एकपटकको चार्जमा ५६६ किलोमिटरसम्म रेन्ज प्रदान गर्छ। दिपल ई०७ को रियर ह्विल ड्राइभ भेरियन्टको सुरुवाती मूल्य ९९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ, जुन केही समयका लागि मात्रै लागू हुनेछ।
अलह्विल ड्राइभ भेरियन्टले ४४० किलोवाट पावर र ६४५ एनएम टर्क उत्पादन गर्न सक्छ। २४० किलोवाट आवरको फास्ट डीसी चार्जिङ क्षमताका कारण यो भेरियन्ट लामो यात्राका लागि थप उपयुक्त देखिन्छ। अलह्विल ड्राइभ भेरियन्टको मूल्य १ करोड ९९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
गाडी ५ प्रकारका क्रुज असिस्ट र १४ प्रकारका सुरक्षा प्रणाली प्रयोग गरिएको छ जस्ले यात्रालाई आरामदायक र सुरक्षित बनाउँछन्। यसमा ५४० डिग्रीको सराउन्ड भ्यु, लेन डिपार्चर वार्निङ, एडेप्टिभ क्रुज कन्ट्रोल, र इमर्जेन्सी ब्रेकिङजस्ता फिचरहरू समावेश छन्।
दिपल ई०७ को २१० एमएमको ग्राउन्ड क्लियरेन्सका कारण यो नेपाली सडकमा सहजै चलाउन सकिन्छ। इन्टेरियरलाई यात्रुहरूको आरामदायी अनुभवलाई ध्यानमा राखेर डिजाइन गरिएको छ। अगाडिको र पछाडिको सिटलाई सजिलै परिवर्तन गरी क्याम्पिङका लागि उपयुक्त बनाउन सकिन्छ।
एमएडब्लू वृद्धिले दिपल ई०७ को माध्यमबाट नेपाली अटोमोबाइल बजारमा नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरेको छ।