सेयर बजारमा पुरुष भन्दा महिला सफल: यस्ता छन् कारणहरु

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ३० गते
सेयर बजारमा पुरुष भन्दा महिला सफल: यस्ता छन् कारणहरु

सेयरबजारमा अहिले महिलाहरुको उल्लेखनीय सफलता र बढ्दो उपस्थिति चर्चाको विषय बन्दै गएको छ। परम्परागत रूपमा पुरुष प्रधान देखिएको सेयरबजारमा केही समय अघि सम्म महिला लगानीकर्ताको संख्या औंलामा गन्न सकिने अवस्थामा मात्रै थियो। तर पछिल्लो केही वर्षहरूमा महिलाहरु वित्तीय क्षेत्रमा सक्रिय रूपमा सहभागिता जनाउँदै आएका छन्। टेक्नोलोजीको विकास र अनलाइन प्लेटफर्महरुको पहुँचले गर्दा महिलाहरु सहज रूपमा सेयरबजारप्रति परिचित हुँदै गएका छन्। महिलाहरुले दीर्घकालीन लगानी रणनीति,जोखिमको सही व्यवस्थापन र सन्तुलित पोर्टफोलियोको माध्यम बाट आफूलाई एक स्थापित लगानीकर्ताको रूपमा पनि परिचित गराउन थालेका छन्।

विश्वव्यापी सेयरबजारमा महिलाहरूले पुरुषको तुलनामा बढी कमाई गर्न थालेको थुप्रै उदाहरणहरुले यतिबेला मानिस हरुको ध्यान आकर्षित गरेको छ। विभिन्न अनुसन्धानहरूले देखाएका अनुसार महिलाहरू दीर्घकालीन र सुरक्षित रणनीतिहरूमा केन्द्रित हुने भएकाले उनीहरूको लगानी प्रायः स्थिर र मुनाफाजनक हुने गर्दछ। यसले गर्दा महिलाहरू सेयरबजारमा थप सफल हुने सम्भावना देखिएको छ। लगानीको क्षेत्रमा पुरुषले जोखिमयुक्त पोजिसन लिने र आक्रामक व्यवहारले नोक्सान गरिरहेका हुन्छ्न भने महिलाहरु कम जोखिम लिने, र बढी संयम भएर कारोबार गर्ने भएकाले धेरै नाफा कमाउन गरेका छन्।

विशेषज्ञहरूका अनुसार महिलाहरूले वित्तीय निर्णय गर्दा धैर्यता, अनुशासन र दीर्घकालीन सोचको प्रयोग गर्छन्। उनीहरू प्रायः जोखिमयुक्त सेयरहरूमा लगानी गर्नेभन्दा सुरक्षित र सन्तुलित पोर्टफोलियो बनाउन ध्यान दिन्छन्। वित्तीय व्यवस्थापनमा उनीहरूको यो रणनीतिले बजारको उतार-चढावका बीच पनि स्थिर नाफा दिन सक्छ। अध्ययनहरूले देखाएको छ कि महिलाहरू लगानीको नयाँ अवसरमा रिसर्च र अध्ययन गर्दा थप समय दिने र दीर्घकालसम्म कमाउन सक्ने लगानीमा रुचि राख्ने गर्दछन् । त्यसैले उनीहरूको यो सोचले सेयरबजारको क्षेत्रमा उनीहरूलाई थप सफल बनाएको छ।

अन्तर्राष्ट्रिय सेयरबजार अनुसन्धान अनुसार पुरुषहरूमा प्रायः छिटो नाफा दिने जोखिमयुक्त सेयरहरूमा आकर्षित हुने प्रवृत्ति देखिन्छ भने महिलाहरूले दीर्घकालीन लगानीलाई प्राथमिकता दिन्छन्। यस्तो रणनीतिले महिलाहरूलाई समयसँगै बढी नाफा दिलाउने गरेको तथ्य अनुसन्धानले पुष्टि गरेको छ। सन् २०१६ मा अमेरिकाको ‘फिडेलिटी इन्भेस्टमेन्ट’ द्वारा गरिएको एक अध्ययनमा महिलाले पुरुष भन्दा  बढी नाफा आर्जन गरेको पाईएको थियो।

तर, सबै केसहरूमा महिलाहरूले पुरुषभन्दा बढी कमाउँछन् भन्ने कुरा स्थायी रूपमा लागू नहुन सक्छ। सेयरबजारमा सफलताको मुख्य आधार भनेको व्यक्तिगत निर्णय, अध्ययन, र जोखिम व्यवस्थापनको क्षमतामा निर्भर रहन्छ।

तर, धेरै अनुसन्धान र अध्ययनहरुले देखाएको तथ्यहरुका अनुसार भने महिलाहरुले आफूलाई कुशल लगानीकर्ताको रूपमा साबित गर्न सफल भएका छन्।

नेपालमा पनि यो ट्रेन्ड क्रमश: देखिन थालेको छ। महिलाहरुले सेयरबजारका क्षेत्रमा सक्रिय हुँदै लगानीमा बलियो उपस्थिति जनाउन थालेका छन्। जुन भविष्यमा अझै धेरै बढ्ने सक्ने सम्भावना रहेको छ। पछिल्लो समयमा महिलाहरु सेयरबजारमा लगानीकर्ताको रूपमा मात्र नभएर सफल व्यापारी, विश्लेषक र नेतृत्वदायी भूमिकामा पनि देखिएका छन। महिलाहरुको लगानीको दृष्टिकोण र बजारमा सफलताको उदाहरणले महिला लगानीकर्ताहरूलाई थप प्रोत्साहित गर्ने र भविष्यमा महिला लगानीकर्ताहरुको संख्यामा उल्लेखनीय वृद्धि हुने सम्भावना अझै धेरै बढ्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स