भारत सरकारले यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल सरकारलाई ५३८ वटा गाडी अनुदान स्वरूप हस्तान्तरण गरेको छ। गृह मन्त्रालयका अधिकृतहरूका अनुसार हालसम्म ती सबै गाडी नेपाल आइपुगेका छन्। भारतबाट प्राप्त गाडीहरू निर्वाचनमा प्रयोग हुनेछन् र सुरक्षा निकाय, निर्वाचन आयोग तथा जिल्ला प्रशासन कार्यालयहरूलाई वितरण गरिएको छ। गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेका अनुसार भारतले दिएको गाडीमा बोलेरो जिप, स्कोर्पियो र स्कोर्पियो पिकअप समावेश छन्।
सरकारले ती गाडीमध्ये ८७ वटा निर्वाचन आयोगलाई निर्वाचन प्रयोजनका लागि उपलब्ध गराएको छ भने सुरक्षा निकायलाई २९८ वटा गाडी प्रदान गरिएको छ। नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेका अनुसार भारतबाट प्राप्त १९५ वटा गाडी गृह मन्त्रालयले प्रहरीलाई उपलब्ध गराएको छ र ती काठमाडौँ उपत्यका तथा उपत्यका बाहिरका युनिटमा पठाइनेछन्। सशस्त्र प्रहरी बललाई ९३ वटा र राष्ट्रिय अनुसन्धान विभागलाई १० वटा गाडी प्रदान गरिएको छ। गृह मन्त्रालयले ईलाका प्रशासन कार्यालय, कारागार कार्यालय तथा जिल्ला प्रशासन कार्यालयहरूलाई समेत गाडी उपलब्ध गराएको छ।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा गाडी आगजनी भएका जिल्ला प्रशासन कार्यालयहरूलाई विशेष रूपमा गाडी प्रदान गरिएको छ भने प्रदर्शनबाट प्रभावित नभएका प्रशासन कार्यालयहरूलाई पनि गाडी वितरण गरिएको छ।
निर्वाचनका लागि प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले ३७७ वटा गाडी खरिद प्रक्रियामा छन्। प्रहरीले १० वटा इलेक्ट्रिक गाडी प्राप्त गरिसकेको छ भने बाँकी ७५ वटा गाडी निर्वाचन अघि नै आइपुग्नेछन्। थप रूपमा, प्रहरीले १०० वटा गाडी खरिद गर्न टेण्डर प्रक्रिया अघि बढाएको छ।

















प्रतिकृया