instainsta

आइतबार नेपाल धितोपत्र बोर्डमा दिनभर के भयो ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २७ गते
आइतबार नेपाल धितोपत्र बोर्डमा दिनभर के भयो ?
AdvertisementAds

आइतबार दिउँसो ३ बजेपछि धितोपत्र बोर्डको वातावरण एकाएक तनावपूर्ण बन्यो। सञ्चालक समितिको बैठक जारी रहँदा लगानीकर्ताहरू आन्दोलनमा उत्रिए। त्यसपछि बोर्ड परिसरमा चर्काचर्की र नाराबाजी चल्यो। स्थिति रातिसम्म तन्किँदै गयो र लगानीकर्ताहरू राति अबेरसम्म बोर्डमै रहँदै आन्दोलन जारी राखे।

राति करिब सवा १० बजे प्रहरीले बल प्रयोग गर्दै बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठसहितका पदाधिकारीलाई बोर्ड परिसरबाट बाहिर निकाली प्रहरी भ्यानमार्फत सुरक्षित रूपमा बाहिर ल्यायो।

सेयर लगानीकर्ताहरुले पूँजीबजार सुधार सुझाव कार्यदलले दिएको सुझाव तत्कालै कार्यान्वयन हुनु पर्ने माग सहित आईतवार नेपाल धितोपत्र बोर्डका सञ्चालकहरूलाई धितोपत्र बोर्ड कार्यालयमा नै घेराउ गरेका हुन्।

लगानीकर्ताहरू आइतबार दिउँसो करिब ३ बजे धितोपत्र बोर्ड कार्यालय पुगेका थिए। बोर्ड परिसरमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति थियो। धितोपत्र बोर्ड सञ्चालक समितिको बैठक सुरु हुनु अघि लगानीकर्ताका प्रतिनिधि र सञ्चारकर्मी (बिना क्यामेरा) बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठसँग छलफल गरेका थिए।

“धितोपत्र बोर्ड अध्यक्ष बनेर आएका सन्तोष नारायण श्रेष्ठले आज सम्म के के काम गर्नुभयो, सुधारका के के प्रयास भए भन्ने प्रश्न राख्यौं” छलफलमा सहभागी सुशील जैनले बजारको चिरफारसँग भने। ‘त्यो प्रश्नको जवाफ आउँदै आएन, कसैले दिनै सकेन । काम गरेको भएपो जवाफ आउँथ्यो। उहाँहरूले काम गर्नुभएको भएपो जवाफ दिनुहुन्थ्यो।’

पहिलो चरणको छलफलपछि धितोपत्र बोर्डको सञ्चालक समिति बैठक सुरु भयो। बैठक भइरहेकै बेला थप लगानीकर्ताहरू बोर्डमा उपस्थित हुन थाले। उनीहरूले सेयर बजार सुधारका लागि तत्काल ठोस कदम चाल्न माग गरे। यस क्रममा लगानीकर्ताहरूले बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठसँग प्रत्यक्ष (फेस–टु–फेस) वार्ता पनि गरे।

अध्यक्ष श्रेष्ठले आफू गम्भीर भएर लागेको तर नीतिगत सुधारका लागि समय लाग्ने बताए। उनले जिम्मेवारीपूर्वक काम गर्ने र आज गर्न नसक्ने काम भोली पूरा गर्ने बताए। तर लगानीकर्ताहरूले पूँजीबजार सुधार सुझाव कार्यदलले दिएका सिफारिसहरू तत्काल लागू हुने स्पष्ट योजना माग गरे।

अध्यक्ष श्रेष्ठले लगानीकर्ताका १० वटै माग पूरा हुने र मार्जिन कलबारे राष्ट्र बैंकसँग छलफल गर्ने आश्वासन दिएका थिए। तर लगानीकर्ताहरूले त्यसका लागि ठोस योजना पेश गर्न आग्रह गरे।

अर्कोतर्फ, लगानीकर्ताहरूले धितोपत्र बोर्डको मुख्य गेटमा ताला लगाएर आन्दोलन चर्काएका थिए।

बेलुका ८ बजेपछि लगानीकर्ताका प्रतिनिधि पुनः छलफलमा सहभागी भए। दीपेन्द्र अग्रवालले बोर्डले लिखित वक्तव्य जारी गर्ने भन्दै बाहिर आएका थिए। केही समयपछि बोर्डका एक कर्मचारीले उक्त वक्तव्य टेबलमा राखे। तर लगानीकर्ताहरूले वक्तव्य बाहिर राख्नु अपमानजनक भएको भन्दै र त्यसमा के लेखिएको छ सार्वजनिक रूपमा पढेर सुनाउनुपर्ने माग गर्दै थप नाराबाजी गरे।

केही समयपछि बोर्डका एक कर्मचारीले उक्त वक्तव्य पढेर सुनाए। तर आधिकारिक हस्ताक्षर नभएको र लगानीकर्ताका माग पूरा नभएको भन्दै उनीहरूले नाराबाजी गरे। करिब सवा १० बजे सशस्त्र प्रहरी र नेपाल प्रहरीले बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठसहित अन्य पदाधिकारीलाई उच्च सुरक्षा साथ बोर्डबाट बाहिर ल्याएर रेस्क्यु गरे।

लगानीकर्ताहरुले बोर्डलाई काम गर्न तिहार सम्मको अल्टिमेटम दिएका छन् भने सो समयमा पनि वोर्डले काम नगरेमा योजनाबद्ध आन्दोलन घोषणा हुने लगानीकर्ता दीपेन्द्र अग्रवालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स