राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो वाचापत्र सार्वजनिक गरेको छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित आमसभामा पार्टीका शीर्ष नेताहरूले वाचापत्र अनावरण गरेका थिए। सार्वजनिक कार्यक्रममा पार्टीका उपसभापति तथा अर्थविद् स्वर्णिम वाग्लेले वाचापत्रका प्रमुख अंशहरू प्रस्तुत गर्दै मुलुकको नीतिगत दिशालाई स्पष्ट पार्ने गरी एक सय आधारहरू समेटिएको जानकारी दिए।
वाग्लेले भने, “लोकतन्त्र सुरक्षित हुनका लागि मध्यम वर्गको आकार ठूलो हुनुपर्छ, मध्यम वर्ग सुरक्षित हुनुपर्छ र मध्यम वर्ग भविष्यप्रति आशावादी हुनुपर्छ। यही कारणले मध्यम वर्गलाई केन्द्रमा राखेर वाचापत्र ल्याइएको हो।”
उनका अनुसार वाचापत्रले राज्य सञ्चालनको स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ, जसमा अर्थतन्त्रका समस्याहरू समाधान गर्ने उपायहरू समावेश छन्। वाच्लेले वाचापत्रमा दलमुक्त राज्य संयन्त्र निर्माण, सरकारी सेवामा डिजिटल प्रविधिको प्रयोगमार्फत ‘लाइन होइन, अनलाइन’ प्रणाली, र राज्यप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने कार्यक्रमहरूलाई प्राथमिकता दिइएको पनि बताए।
उनी थप्दै भने, “लामो समयदेखि थाँती रहेका आर्थिक सुधारहरू कार्यान्वयनमा ल्याइनेछ र विकासमा बाधा पुर्याउने विभिन्न ऐन तथा नियमहरू एकैपटक खारेज गरिनेछ। निजी क्षेत्रलाई विकासको सहयात्रीका रूपमा अघि बढाइने, करको बोझ घटाइने र प्रशासनिक झन्झट हटाइने योजना वाचापत्रमा समावेश छ।”
रास्वपाले आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको देश बनाउने लक्ष्य लिएको छ। स्थिर मूल्यमा कम्तीमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै निरन्तर ५ प्रतिशत वृद्धिदर कायम गर्ने योजना प्रस्तुत गरिएको छ। त्यस्तै, ५–७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर पुर्याउने र अर्थतन्त्रको आकार १०० अर्ब डलरसम्म विस्तार गर्ने प्रतिबद्धता पनि पार्टीले व्यक्त गरेको छ।




















प्रतिकृया