‘आफ्नै आम्दानीबाट देश बनाउने’ बजेट ल्याएका छौँ: अर्थमन्त्री वाग्ले

‘आफ्नै आम्दानीबाट देश बनाउने’ बजेट ल्याएका छौँ: अर्थमन्त्री वाग्ले
Advertisement Ads

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको विकासका लागि बाह्य ऋणमा निर्भर रहने अवस्था अन्त्य गर्दै आफ्नै आम्दानीबाट देश निर्माण गर्ने लक्ष्यसहित नयाँ बजेट ल्याइएको बताएका छन्।

बिहीबार आफ्नो निर्वाचन क्षेत्र तनहुँमा जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रम उद्घाटन गर्दै अर्थमन्त्री वाग्लेले राज्यको आम्दानी बढाएर विकास अघि बढाउने नीति लिइएको बताए।

उनले विगतमा कमजोर सरकारी आम्दानीका कारण ऋण लिएर दैनिक तथा अत्यावश्यक खर्च धान्नुपर्ने अवस्था रहेको भन्दै करको दायरा विस्तार गरेर थोरै–थोरै योगदानमार्फत राज्यको आम्दानी बढाउने प्रयास भइरहेको बताए।

“विगतदेखि नै हामीले देखिरहेका छौँ। ऋण लिएर ऋण र त्यसको ब्याज तिरिरहेका छौँ। नियमित र अत्यावश्यक राज्यको दायित्व साढे १३ सय अर्ब छ। सरकारको आम्दानी १२ सय ५० अर्ब हाराहारी मात्रै छ,” अर्थमन्त्री डा. वाग्लेले भने, “अहिले हामीले करको दर फराकिलो बनाएको र कर तिर्न प्रोत्साहनका कार्यक्रम ल्याएको यसैका लागि हो।”

जनताको विकासप्रतिको अपेक्षा र मुलुकको आर्थिक सामर्थ्यबीच ठूलो अन्तर रहेको तथा दातृ निकायबाट प्राप्त हुने ऋणसमेत महँगो बन्दै गएको अवस्थामा नेपाल आफैँ आर्थिक रूपमा सक्षम बन्नुपर्ने उनले बताए।

अर्थमन्त्री वाग्लेले ऋण नलिने, कर पनि नतिर्ने तर विकास भने जसरी पनि हुनुपर्ने सोचबाट सबै जना माथि उठ्नुपर्ने धारणा राखे।

करको दायरा विस्तार गर्दा नयाँ क्षेत्रमा कर थपिएको भन्दै आउने गुनासालाई सम्बोधन गर्दै सरकारले अन्तिम कर दायित्वबाट सर्वसाधारणलाई जोगाउने विषयमा आश्वस्त रहन उनले आग्रह गरे।

सरकारले २१ सय २४ अर्ब रुपैयाँको बजेटमार्फत निजी क्षेत्रलाई उत्साहित बनाउँदै ६६ खर्ब रुपैयाँको अर्थतन्त्रलाई थप चलायमान बनाउन खोजेको उनले बताए।

यस्तै, सरकारले छिट्टै प्रवासी नेपालीलाई समेत नेपालमा लगानी गर्न सहज हुने वातावरण निर्माण गर्ने तयारी अघि बढाएको अर्थमन्त्री वाग्लेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स