अमेरिकामा जन्मेकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने आदेशमा ट्रम्पले गरे हस्ताक्षर
डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण गरेपछि विभिन्न प्रमुख आदेशहरूमा हस्ताक्षर गरेका छन्।
ट्रम्पले अमेरिका–मेक्सिको सिमानामा राष्ट्रिय आपतकाल घोषणा गर्दै त्यहाँ सेना तैनाथ गर्न अनुमति दिने आदेशमा हस्ताक्षर गरेका छन्। साथै, उनले अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने नीतिको अन्त्य गर्ने आदेश जारी गरेका छन्, जसले अदालती विवाद उत्पन्न गर्न सक्ने रोयटर्सले जनाएको छ।
गैरकानुनी रूपमा अमेरिकामा बसिरहेका आप्रवासीहरूलाई स्वदेश फर्काउने आदेशमार्फत आप्रवासी नीतिहरूलाई थप कडा बनाउने कदम पनि चालिएको छ।
सोमबार शपथ ग्रहण गरेपछि ट्रम्पले २०२१ जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको आक्रमणको घटनामा संलग्न १५०० अभियुक्तलाई माफी दिने निर्णयमा हस्ताक्षर गरेका छन्। ती अभियुक्तहरू डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको चुनावी विजय घोषणा गर्न बसेको कंग्रेसको बैठकमा आक्रमण गरेको आरोपमा सजाय भोगिरहेका थिए। आक्रमणमा संलग्न अधिकांशलाई ट्रम्पका समर्थक मानिएको थियो।
राष्ट्रपति निर्वाचित भएपछि उनले ती अभियुक्तहरूको रिहाइको वाचा पूरा गरेका छन्।
ट्रम्पले जलवायु परिवर्तन, आर्टिफिसियल इन्टेलिजेन्स, र विद्युतीय सवारी साधनहरू नियन्त्रण गर्ने नीतिहरू खारेज गरेका छन्।