गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाएपछि रास्वपा सांसद गुप्तालाई ट्राफिक प्रहरीले तिरायो जरिबाना

गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाएपछि रास्वपा सांसद गुप्तालाई ट्राफिक प्रहरीले तिरायो जरिबाना

गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य बब्लु गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिबाना गरेको छ।

सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर आफैंले जरिबाना बुझाएको प्रहरीले जनाएको छ। उनी गुडिरहेको बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट भिडियो खिचिरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि व्यापक आलोचना भएको थियो।

सार्वजनिक पदमा रहेका व्यक्तिले नै ट्राफिक नियम उल्लंघन गरेको भन्दै उनीमाथि पनि सर्वसाधारणसरह कानुन लागू हुन्छ कि हुँदैन भन्ने प्रश्न सामाजिक सञ्जालमा उठेको थियो। त्यसपछि ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गरेको कसुरमा उनलाई ५ सय रुपैयाँ जरिबाना गरेको हो।

जरिबानापछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले सबै नागरिक कानुनको नजरमा समान हुने सिद्धान्तअनुसार कारबाही भएको भन्दै स्वागत गरेका छन् भने केहीले ५ सय रुपैयाँको जरिबाना पर्याप्त नभएको टिप्पणी गरेका छन्।

घटनापछि आलोचना बढेपछि सांसद गुप्ताले फेसबुकमार्फत क्षमायाचना गरेका थिए। उनले लेखेका छन्, ‘अहिले सामाजिक सञ्जालमा म मोटरसाइकलमा बसेको एउटा भिडियो भाइरल भइरहेको छ । बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए । त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेको रहेछु भन्ने कुरा मैले आफैं महसुस गरेको छु,’

उनले थप लेखेका छन्, ‘अब यही जोश र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु ।’

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स