सेयरबजार घटेको घट्यै, आईपिओको आकर्षण बढेको बढ्यै

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २३ गते
सेयरबजार घटेको घट्यै, आईपिओको आकर्षण बढेको बढ्यै

विगत केही वर्षदेखि नेपालमा आइपिओप्रति लगानीकर्ताको आकर्षण लगातार बढ्दै गएको छ। यो वर्ष पनि त्यसको निरन्तरता झन् बढेको छ। नेपालमा आइपिओले लगानी संस्कृतिलाई परिवर्तन गर्दै लगिरहेको छ। अहिले सामान्य नागरिकदेखि विद्यार्थी र गृहिणीसम्मले आइपिओमार्फत सानो रकमबाट लगानी गर्न थालेका छन्। नयाँ नयाँ कम्पनीहरूले विभिन्न क्षेत्रबाट सेयर बजारमा प्रवेश गर्न थालेपछि लगानीकर्ताहरूको उत्साह अझै बढेको देखिन्छ।

लगभग एक वर्षसम्म धितोपत्र बोर्ड (सेबोन)ले अध्यक्ष नपाउँदा कुनै पनि कम्पनीले आफ्नो आइपिओ निष्कासनको अनुमति पाएका थिएनन्। त्यस अवधिमा सेयर बजारमा नयाँ कम्पनी नआएपछि लगानीकर्तामाझ केही निराशा छाएको थियो। तर, अध्यक्ष नियुक्त भएसँगै क्रमशः केही कम्पनीहरूले आइपिओ निष्कासनको अनुमति पाउन थालेका थिए, जसले बजारमा पुनः चहलपहल ल्याएको थियो।

अनुमति पाएपछि कम्पनीहरूले सर्वसाधारणका लागि आफ्नो सेयर ४ दिनसम्म आवेदन खुला गर्ने गर्छन्। तर आइपिओमा बजारको लोकप्रियता यति धेरै बढिसकेको छ कि आवेदन खुल्नसाथ केही मिनेटभित्रै आइपिओ ‘ओभर–सब्स्क्राइब’ हुने गर्छ। यसले गर्दा धेरै लगानीकर्ताले आवेदन दिए पनि सेयर पाउने सम्भावना निकै कम हुन्छ। बढ्दो आकर्षण र धेरै आवेदनका कारण अहिले आइपिओ बाँडफाँड गोला प्रथाबाट हुने गर्छ र लगानीकर्ताले कम्तीमा १० कित्तासम्म पाउने व्यवस्था गरिएको छ। सोही कारण धेरै जसो लगानीकर्ताहरुको हात खाली हुने गर्छ।

हालसालै बैशाख १६ गते विकास हाईड्रोपावरले ४४ लाख ५४ हजार ५९६ कित्ता आइपिओ निष्काशनको अनुमति पाएको थियो। कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाहरु र वैदेशिक रोजगारीमा रहेका नेपाली हरूको लागि आइपिओ निष्काशन गरिसकेपछि बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। असार १८ गतेदेखि निष्कासन गरेको यस आइपिओमा पहिलो दिनमै ओभर सब्स्क्राइब भएको थियो। ४ लाख बढीले ५९ लाख ५९ हजार कित्ताको लागि आवेदन दिएका थिए। आइपिओ निष्काशनको अन्तिम दिनसम्म भने २१ लाख २० हजार ८५७ जनाबाट २ करोड ५६ लाख बढी किताको लागि आवेदन परेको थियो। जस मध्ये २ लाख ९४ हजार जनाले १०-१० कित्ता को दरले आइपिओ हात पारेका थिए भने बाँकीको हात खाली भएको थियो।

विकास हाइड्रोपावरपछि आइपिओ निष्काशनको अनुमति पाउने कम्पनीहरूको सूची लामो हुँदै गएको छ। हालसालै आइपिओ निष्कासनको अनुमति पाउने कम्पनीहरूमा: दरमखोला हाइड्रो इनर्जी (३९ लाख ५० हजार कित्ता), माबिलुङ इनर्जी (१८ लाख ९० हजार कित्ता),स्वस्तिक लघुवित्त वित्तीय संस्था (२ लाख ३१ हजार कित्ता),बुङ्गल हाइड्रो लिमिटेड (२९ लाख ५ हजार कित्ता), बन्दीपुर केवलकार (५८ लाख ६० हजार कित्ता), झापा इनर्जी लिमिटेड (९ लाख ५० हजार कित्ता), सागर डिस्टिलरी(१४ लाख ५२ हजार कित्ता), श्रीनगर एग्रीटेकको( ३२ लाख ६२ हजार कित्ता) र एसवाई प्यानल (५२ लाख ३२ हजार कित्ता) रहेका छन्।

आर्थिक वर्ष २०८२/८३ अर्थात् (असार) देखि अहिलेसम्म तीन वटा कम्पनीहरूले आइपिओ निष्काशनको अनुमति पाइसकेका छन्। यी तीनै कम्पनी म्यानुफ्याक्चरिङ सेक्टरका हुन्।सबैभन्दा पहिले, सागर डिस्टिलरीले २०८२ साल श्रावण १२ गते १४ लाख ५२ हजार कित्ता आइपिओ निष्काशनको अनुमति पाएको थियो। यसमध्ये ११ लाख ९० हजार कित्ता सर्वसाधारणका लागि भदौ ३० गतेदेखि निष्काशन गरिएको थियो। आइपिओ निष्काशनको अन्तिम दिनसम्म २३ लाख ५२ हजारभन्दा बढी लगानीकर्ताले आवेदन दिएका थिए। तर, केवल १ लाख १९ हजारले मात्र आइपिओ पाउन सके भने बाँकीको हात खाली भएको थियो।

त्यसपछि, श्रीनगर एग्रीटेकले २०८२ श्रावण १३ गते ३२ लाख ६२ हजार कित्ता आइपिओको अनुमति पाएको थियो। कम्पनीले २५ लाख १० हजार कित्ता सर्वसाधारणका लागि असोज २६ गतेदेखि निष्काशन गरेको थियो। आइपिओमा अन्तिम दिनसम्म १९ लाख ४२ हजारभन्दा बढीले २ करोड १७ लाख कित्ताको लागि आवेदन दिएका थिए। त्यस्तै, एसवाई प्यानलले भदौ १७ गते सेबोनबाट ५२ लाख ३२ हजार कित्ता आइपिओ निष्काशनको अनुमति पाएको थियो। कम्पनीले कार्तिक १९ गतेदेखि २३ गतेसम्म सर्बसाधारणको लागि आइपिओ निष्काशन गरेको छ। अन्तिम दिनसम्म २१ लाख २९ हजार ७ सय १५ जनाले २ करोड ४६ लाख ३२ हजार ६३० कित्ताको लागि आवेदन दिएका छन्।

यसरी हेर्दा, पछिल्लो समय दोश्रो बजारमा सुस्तता छाएको भएतापनि प्राथमिक बजारमा भने लगानीकर्ताको आकर्षण चुलिँदै गएको देखिन्छ। आइपिओप्रति लगानीकर्ताको आकर्षण लगातार बढ्दो छ। तर, बजारमा आउने कित्ता कम भएकाले धेरै लगानीकर्ताको हात खाली हुने गरेको देखिन्छ। तर, बढ्दो माग, सीमित सेयर उपलब्धता र गोला प्रणाली जस्ता कुराहरुले भने लगानीकर्ताको उत्साह घटेको छैन। हरेक नयाँ आइपिओमा हजारौं नयाँ आवेदन थपिँदै आइरहेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स