दोस्रो संस्करणको एनपीएलका खेल अब ‘डिशहोम गो’ एपमा प्रत्यक्ष हेर्न सकिने, कति तिर्नुपर्छ शुल्क ?
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै ३२ खेल अब डिशहोम गो मोबाइल एप मार्फत प्रत्यक्ष हेर्न सकिने भएको छ। एनपीएल आगामी १ देखि २७ मङ्सिर २०८२ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ।
नेपाल क्रिकेट संघले डिश मिडिया नेटवर्कलाई ओटीटी प्रशारण अधिकार प्रदान गरेको छ। दर्शकहरूले एपमार्फत खेल हेर्न छुट्टै शुल्क तिर्नुपर्नेछ। क्यानले तोकेको मूल्य अनुसार, नेपालमा ३०० रुपैयाँ, मिडल ईस्टमा ५०० रुपैयाँ र अन्य देशका दर्शकले १० अमेरिकी डलर तिर्नुपर्नेछ। एप र वेबसाइटमार्फत खेल हेर्दा विज्ञापनरहित प्रत्यक्ष प्रसारण उपलब्ध हुनेछ।
एनपीएलका खेलहरू युट्युबमार्फत प्रत्यक्ष प्रसारण हुने छैनन्। डिशहोम गो एप मोबाइल, एन्ड्रोइड टिभी र वेब तीनै माध्यममा उपलब्ध हुनेछ। दर्शकहरूले खल्ती, इसेवा, भिसा वा मास्टरकार्डमार्फत भुक्तानी गरी विश्वभरबाट सब्स्क्रिप्सन लिन सक्नेछन्। कम्पनीका अनुसार, नयाँ संस्करण एप गुगल प्ले स्टोरमा उपलब्ध भइसकेको छ र आईओएस प्रयोगकर्ताका लागि केही दिनभित्र उपलब्ध हुनेछ।





