नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार र प्रधानमन्त्रीको कार्यशैलीमाथि तीखा टिप्पणी गर्दै सुशासनको नाममा गलत काम गर्ने छुट कसैलाई नभएको बताएका छन्। उनले सरकारले संवैधानिक निकायहरूलाई प्रभावमा पार्न खोजेको आरोप पनि लगाए।
बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बिहीबार राष्ट्रिय सभागृहमा आयोजित ‘नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्रीको पछिल्लो कार्यशैलीप्रति टिप्पणी गरे।
उनले भन्नुभयो, ‘प्रधानमन्त्रीलाई कालो चस्मा लगाउन, कालो वस्त्र लगाउन छुट छ तर, काला कर्तुत गर्न छुट छैन । यो विषय हामीले संसद्मा पनि उठाइरहेका छौँ ।’
थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो स्वतन्त्र संवैधानिक निकायलाई सरकारले आफ्नो सचिवालयको छायाँ बनाउन खोजेको आरोप लगाउँदै सरकारसँग स्पष्टीकरण मागे।
उनले भन्नुभयो, ‘के प्रधानमन्त्रीले अख्तियारलाई आफ्नो सचिवालयको छाया बनाउन खोज्नुभएको हो ? यसको उत्तर सरकारले दिनुपर्छ । अख्तियार संविधानप्रति उत्तरदायी हुने हो, सरकारको दबाबमा चल्ने होइन ।’
सञ्चारमाध्यममा प्रधानमन्त्रीले अख्तियारका कर्मचारीलाई धम्क्याएको भन्ने समाचारप्रति पनि उनले टिप्पणी गरे। ‘यदि सञ्चार माध्यममा आएका ती कुरा सत्य होइनन् भने सम्बन्धित मिडियालाई कारबाही गर्नुस्, होइन भने हामीलाई यसको चित्तबुझ्दो जवाफ चाहिन्छ । नेपालको सरकारले संविधान मान्छ कि मान्दैन, हाम्रो मुख्य प्रश्न यही हो,’ उनले भने।
थापाले आफूविरुद्ध भएको आलोचनाप्रति पनि व्यङ्ग्य गर्दै ‘हिजो बीपी स्मृति दिवसको नाममा गगन थापा निन्दा प्रतियोगिता चलिरहेको रहेछ । त्यो सुन्नुभन्दा नसुन्नु नै उपयुक्त हुन्छ भन्ने ठानेर मैले बेवास्ता गरिदिएँ,’ भने।
उनले नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल नभई राष्ट्रिय शक्ति भएको दाबी गर्दै पार्टीलाई प्रविधि, आधुनिक सोच र नयाँ पुस्ताको भावना अनुसार अघि बढाउनुपर्नेमा जोड दिए।
प्रतिकृया