आन्तरिक राजस्व विभागले आज (शुक्रबार) करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो पटक नगद उपहार घोषणा गर्दैछ। कार्यक्रमअन्तर्गत १५ जना करदाताले जनही एक लाख रुपैयाँ र एक जनाले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ नगद प्राप्त गर्नेछन्।
विभागले उपहार कार्यक्रमका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको जनाएको छ। बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि तथा प्रणालीबारे जानकारी गराइएको थियो। सो अवसरमा विभागका प्राविधिकहरूले नमुना उपहार छनोट प्रक्रिया पनि प्रस्तुत गरेका थिए।
आन्तरिक राजस्व विभागका महानिर्देशक तथा सहसचिव डा. भीष्मकुमार भूसालका अनुसार साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका तथा नगदमा खरिद गरी विभागको वेबसाइटमा भौतिक बिल अपलोड गरेका उपभोक्तामध्येबाट आज उपहार घोषणा गरिनेछ।
कार्यक्रमअनुसार साउन १ देखि १५ गतेसम्मको हरेक दिनको कारोबारका आधारमा १५ जनाले करकट्टीपछि जनही एक लाख रुपैयाँ नगद प्राप्त गर्नेछन्। त्यस्तै, सोही अवधिमा वस्तु तथा सेवा खरिद गरेका सबै योग्य उपभोक्तामध्येबाट एक जनाले १० लाख रुपैयाँको बम्पर नगद उपहार जित्नेछन्। बम्पर उपहारमा भने कर लाग्ने विभागले जनाएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत करदातालाई प्रोत्साहन गर्न यस्तो उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए।
करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि अनुसार अबदेखि हरेक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको कारोबारका लागि) र महिनाको अन्तिम दिन (१६ गतेदेखि महिनाभरिको बाँकी अवधिको कारोबारका लागि) नियमित रूपमा उपहार घोषणा गरिनेछ।
बैंक वा डिजिटल वालेटको क्यूआरमार्फत वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता स्वतः कार्यक्रममा सहभागी हुनेछन्। तर, उपहार प्राप्त गर्न खरिदको बिल अनिवार्य रूपमा सुरक्षित राख्नुपर्नेछ।
नगदमा वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले भने प्यान वा भ्याट बिल लिएर आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गरी उपहार कार्यक्रममा सहभागी भएको कुपन प्राप्त गर्नुपर्ने व्यवस्था रहेको विभागले जनाएको छ।
प्रतिकृया