आठ कक्षामा पढ्दै गर्दा सुरेशले आफन्ती दाईबाट अष्ट्रेलियाबारे सुने। त्यहाँको जीवनशैली, उच्च आम्दानी, विशाल भवनहरू अनि ठूला सपना। यी सबैले उनीभित्र अष्ट्रेलिया जाने सपनालाई गहिरो बनायो। त्यस बेला आठ कक्षामा पढिरहेका सुरेशले मनमनै १२ कक्षा पास गरेपछि अष्ट्रेलिया जाने योजना बनाइसकेका थिए। तर अहिले १२ पास गरेको ४ वर्ष भइसक्दा पनि उनलाई विदेशको मोहले आकर्षित गर्न सकेको छैन।
कोहलपुरका सुरेश बुढा क्षेत्रीले पछिल्ला चार वर्षदेखि नेपाली कपडाको ब्राण्ड स्थापना गर्ने उद्देश्यले दिनरात नभनी संघर्ष गर्दै आइरहेका छन्। थोरै स्रोतसाधन र अनुभवको अभावमा सुरु गरिएको यो व्यवसायिक यात्रामा उनले धेरै कठिनाइ भोग्नुपरेको छ। तर पनि उनले हार मानेका छैनन् । दुःखलाई पन्छाउँदै व्यवसायको यात्रा निरन्तर अघि बढाइरहेका छन् ।
सुरेश भित्र केही असफलताको भाव पनि छ। आज व्यवसाय सुरु गरेको ४ वर्ष हुँदा उनलाई एउटै गुनासो छ, “जसरी मलाई आफन्तले बाल्यकालमै अष्ट्रेलियाको सपना देखाए, त्यहाँ जानु अगाडि के के गर्नुपर्छ भनेर एक-एक सल्लाह दिए। त्यही सल्लाह र सुझाव मैले आफ्नो व्यवसाय सुरु गर्दा पाएको भए वा मैले गरिरहेको कामलाई बुझिदिने कोही भएको भए म आज केही हदसम्म सफल हुने थिए।” उनी भन्छन्।
व्यवसायमा, बुबा आमा र एक साथीबाहेक अरू कसैको साथ नपाएका सुरेशले आजसम्म हार मानेका छैनन्। २३ वर्षीय सुरेश अहिले आफ्नो व्यवसायिक यात्राको अन्तिम संघर्षमा छन्। आइपीओ बेचेर थोरै पैसा र ठूलो आशा लिएर काठमाडौं फर्किएका छन्। यो समय सुरेशको लागि आफ्नो व्यवसायको अन्तिम लड़ाई हो। दशैंसम्म मेहेनत गर्ने र यदि कुनै उपलब्धि हुन नसकेमा, उनी मन नलागे पनि विदेश जाने विकल्पलाई विचार गरिरहेका छन्।
सानै उमेरमा सबैले अष्ट्रेलिया राम्रो छ भनिरहँदा उनी तिनै सल्लाह बाट प्रेरित थिए। साथीहरुको डाक्टर इन्जिनियर बन्ने सपनाका बीचमा उनको अष्ट्रेलियाको सपना थियो। १० कक्षा पास गरेपछि थप अध्ययन गर्न काठमाडौं आए। काठमाडौं आउनुमा उनको मुख्य उद्देश्य १२ कक्षा पास गरेपछि अष्ट्रेलिया जाने थियो।
२०७७ मा सुरेशले १२ कक्षा पास गर्दै गर्दा, संसार नै कोभिडको चपेटामा परेको थियो। “१२ पास गरेपछि नेपालमा सबै विदेश जाने ट्रेन्ड चलेको थियो। मलाई पनि विदेश जाने दबाब थियो। सबै फर्किरहेको बेला, उतै बसेकालाई यताबाट पैसा पठाउनु प्राएको थियो। त्यस्तो बेला के विदेश जानु भन्ने पनि लाग्यो,” सुरेश सम्झिन्छन्। “अनि यतै ब्याचलर गरेर पछि सबै ठीक भए मास्टर गर्न विदेश जानुपर्ला भन्ने लाग्यो। यतै केही गर्न सकिन्छ कि भनेर पनि बुझ्न थालेँ।”
स्नातकमा, सुरेशले विविएसमा भर्ना लिए। स्नातकको पढाइका लागि आफैं पैसा कमाउने सोचसहित उनले काम खोज्न थाले। तर, “काममा जाने आउने समय नमिल्ने,” उनी भन्छन्। “रेस्टुरेन्टमा काम गर्ने साथीहरू राति ९ बजेसम्म काम गर्थे।” कामको समय नमिल्ने देखिएपछि सुरेशले स्कुटर किनेर पठाओ गर्न थाले।’
तर, पठाओ उनले सोचेजस्तो भएन। त्यसपछि उनले स्टार्टअपहरूमा डेलिभरी सेवा दिने योजना बनाए। एक खुर्सानी अचार डेलिभरी गर्ने कम्पनीमा काम थाले। तर, सो कम्पनीको कारोबार घट्न थालेपछि उनी तिनै अचार व्यवसायीका भाइको कपडा पसलमा डेलिभरीको काममा सुरु गरे।
सुरेशले प्रति डेलिभरी १०० रुपैयाँ पाउँथे। “जहाँ म डेलिभरीको काम गर्थे, त्यहाँको सञ्चालक दाइहरूले थोरै पैसाबाट व्यवसाय सुरु गरेको थाहा पाएँ। उहाहरुले २-४ लाख रुपैयाँबाट व्यवसाय सुरु गर्नुभएको रहेछ। अहिले राम्रो कमाइ छ। मैले ३ लाख हुँदा स्कूटर किने। यो कुराले मलाई एकदम छोयो। मैले पनि बिजनेस गर्नुपर्छ भन्ने सोच आयो। पैला धेरै पैसा भएर मात्र बिजनेस हुन्छ भन्ने लाग्थ्यो।”
सुरेश थप्छन्, “पहिले त सोच त्यही थियो नी विदेश गएर पैसा कमाएर आउँछु अनि बिजनेस गर्छु। तर, पैसा नहुँदा पनि व्यवसाय राम्रो हुने रहेछ। मार्जिन राम्रो हुन्थ्यो, दिनमा ३०-४० पिस बिक्री हुन्थ्यो अनि कति नाफा हुने रैछ भनेर मैले आफैं हिसाब निकाल्थे। दाइहरूले यतै व्यवसायमा राम्रो कमाएको देख्दा, मैले पनि यतै केही गर्न सक्छु भन्ने लाग्यो।
सुरेशले आफैं व्यवसाय चलाउन सक्ने आँट गरे। उनले काम गरिरहेको कपडा पसलमा कसरी काम भइरहेको छ भन्ने अध्ययन थाले अनि अनलाइन समान बेच्ने डिजिटल मार्केटिङ चाहिने हुदा युट्युबबाट डिजिटल मार्केटिङ सिक्न थाले। उनको सोच बैंकबाट डलर कार्ड लिएर अनलाइन व्यापार सुरु गर्ने थियो।
दशैंको बेला, सुरेशले एकजना साथीसँग मिलेर जुत्ताको व्यापार गर्ने सोच बनाए। दुवैले पैसा उठाए, तर जुत्ता सम्बन्धी धेरै जानकारी नभएकाले, आफूले काम गरिरहेको ठाउँकै कपडा बेच्ने निर्णय गरे।
उनले कपडा डेलिभरी गर्ने कम्पनीले पनि कपडा अनलाइन बिक्री गरिरहेको थिएन। सुरेशले दाईलाई मनाए र ती दाइलाई थोरै मार्जिन दिने सर्तमा कपडाको मार्केटिङ गरेर बिक्री गर्न थाले। सुरेश र उनका साथीले ५०-५० हजार रुपैयाँ लगानी गरेर व्यापार सुरु गरेका थिए। सुरेशको साथी कोहलपुरमा बस्ने भएकाले त्यही फेसबुकमा मार्केटिङ गरेर समान बेच्ने, र सुरेशले काठमाडौंमा समान बेच्ने सल्लाह गरे।
दशैं नजिक आइरहेको थियो। उनीहरूले केहि पैसा तिरेर र केही उधारोमा २०० पिस स्वेटशर्ट लिएर उनका साथी कोहलपुर पुगे । फेसबुकबाट उनीहरूको व्यापार राम्रो चल्न थाल्यो। सुरेश सम्झिन्छन्, “डेलिभरी गर्दा दिनमा ३-४ सय रुपैयाँ कमाउँथे, तर अहिले दिनकै ३-४ हजार रुपैयाँ कमाउँदा हामी दुवैजना खुसी भयौं।”
त्यो दशैमा सुरेश घर गएनन्। दशैंभरी उनले काठमाण्डौमै कपडा बेचे। उनीहरूले व्यापारको हिसाब किताब राम्रो राखेका थिएनन्। समान उधारोमा लिएका थिए सामानको उधारोनै १ लाख रुपैयाँ पुगेको थियो।
सुरेश भन्छन,‘कोहलपुरमै राम्रो बिक्री गरिरहेका थियौ। अनलाइन हेरेर भन्दा समान छोएरनै किन्न चाहनेहरूलाई भनेर फिजिकल स्टोर राख्यौ। मैले यताबाट सामान पठाइरहेको थियौ। नयाँ नयाँ थियौ दुवैलाई व्यवसायको आईडिया थिएन। पैसा आइरहेको थियो हिसाब किताब केही थिएन। हामीले सुरुमै त्यही गल्ती गरेछौ। नयाँ समान किन्ने, डलर लोड गर्ने बेला बल्ल पैसाको ख्याल आउन थाल्यो।’
सुरेशले व्यापारमा सहकार्य गरेका साथीलाई थप पैसा आवश्यक पर्ने बताए। साथीले हुन्छ भनेपछि, दुवैले ५०-५० हजार रुपैयाँ फेरि उठाउने सल्लाह गरे।
घरमा ममीलाई साथी र मैले ५०-५० हजार रुपैयाँ उठाउँदैछौं भने। ममीलाई के गरिरहेको छु भनेर बुझाएँ। ममीले अहिले क्याशनै पैसा छैन। गहना राखेर पैसा निकालेर काम चलाउ पछि गहना निकाल्देलास भन्नुभयो। मैले साथीले ५० हजार पैसा दिन्छ भनेर गहना बेचेको १ लाख रुपैयाँ लिएर काम अघि बढाएँ ।’
दशैं तिहारपछि गर्मी मौसम सकिएर बिस्तारै जाडो सुरु हुँदै थियो। उनीहरूसँग भएको कपडा बिक्री हुन छाड्यो। तिहार मनाउन कोहलपुर पुगेका सुरेश काठमाण्डौमा अर्डर आउनसक्ने आशमा राजधानी फर्किए। तर यतापनी भनेजस्तो भएँन। उनीहरूले अलि अलि कमाएको पैसाको हिसाब राखेका थिएनन्। सुरेशले घरबाट लिएर आएको पैसाले उधारो तिरे। फेरि व्यापार अगाडि बढाउने पैसा भएँन।
सुरेश भन्छन्, “साथीलाई फेरि भने, हामीलाई ५०-५० हजारले नपुग्ने रहेछ। लोन पनि धेरै थियो। १-१ लाख रुपैयाँ उठाउनु पर्ने रहेछ। हामीले थप ५०-५० हजार उठाउने सल्लाह गर्यौं। साथीले हुन्छ भने,उसले बैंकबाट लोन लिने प्रक्रिया गरेको थियो। सुन निकाल्ने जिम्मा साथीको भयो भन्दै ममीले थप ५० हजार रुपैयाँ समूहबाट निकालिदिनुभयो। तर उसको लोन पास भएँन। साथीले व्यापार नगर्ने भन्यो। ”
सुरेशले स्टकमा रहेको समान फिर्ता गरेर उधारो तिरे। नयाँ लिएको ५० हजार रुपैयाँमध्ये ३० हजार कोठाभाडा तिर्नमै सकियो, र बाँकी २० हजारले व्यापार अगाडि बढाउने योजना बनाउँदै थिए। नयाँ लिएको ५० हजार मध्य ३० हजार कोठाभाडा तिर्नमै सकियो। बाँकी २० हजारले व्यापार के गर्ने भन्ने चिन्ता एकातर्फ थियो। जाडोको मौसम थियो। कपडा खासै बिक्री नहुने कारण चिसोमा लगाउनेनै भनेर कपडा तयार गरेका थिएनन्। स्टकमा रहेको कपडा थोरै बिक्री भइरहेको थियो। साथीहरुसँग केही पैसा सापटी लिएर काम चलाए।
वैशाख आयो। श्वेटशर्टको व्यापार घटेको कारण सुरेशले टिसर्टको व्यापार अगाडि बढाउने सोच बनाए। टिसर्ट लिए र फेसबुकबाट मार्केटिङ गर्न थाले, तर राम्रो प्रतिक्रिया पाएका थिएनन्। एकदिन, ५ डलरको बुस्ट गर्दा धेरै जनाले समान किन्ने मेसेज पठाए । सुरेशले समान उधारोमा पाएनन्, धेरै अर्डर लिएर व्यापार गर्छु भन्नलाइ सामान किन्नने धेरै पैसापनि थिएन।
सुरेशलाई आइपीओ र सेयर बजारको राम्रो ज्ञान थियो, त्यसैले उनले आइपीओ बेचेर पैसाको जोहो गरिरहेका थिए।
सुरेशले पैला जहाँ श्वेटशर्ट अर्डर प्याकिङ गरेर पठाउने गर्थे टिसर्टको व्यापार सुरु गरेपछि त्यहाँ हट्नुपर्यो, धुम्बाराहीको आफ्नै सानो कोठामा काम सुरु गरे। धेरै अर्डर आएपछि, उनलाई सबै अर्डर आफैं पुर्याउन सम्भव भएन, समान पुर्याउन डेलिभरी कम्पनीलाई अनुबन्धित गरे। डेलिभरी कम्पनीले समयमा सामान नपुर्याउने र पैसा ढिला दिने हुँदा अर्को समस्या थपिएको थियो।
‘समान किन्नलाई पैसा छैन। म एक हप्ता कुरिरहेको हुन्थे त्यो पैसा आउला र समान किनौला भनेर। फेरि राम्रो अर्डर आइरहेको छ समान किन्न पैसा थिएन। घरबाट ५० हजार राखिदिनु भयो। त्यही त हो कोठाभाडा तिर्न पर्यो। बुस्ट गर्न डलर चाहिएको थियो। २०/२५ हजार जति बाकी भयो। बुस्ट गर्दा राम्रो अर्डर आयो । समान किन्न गयो पैसा हुन्न समान बिक्री भयो पैसा एक हप्ता नभई आऊदैन । डेलिभरी कम्पनीले पहिलाको पैसा पनि नदिने। कुर्दा कुर्दा मेरो व्यवसाय १० दिनको काममा सीमित भयो। यसरी राम्रो गर्न सकिन्न की भन्ने लाग्यो अनि नजिकको समान आफै पुर्याउन थाले अनि रिङरोड बाहिरको समान मात्र डेलिभरी कम्पनीलाई दिने गरे।’ सुरेश सम्झिन्छन्।
यो समस्याका बीच, सुरेशलाई उनका साथी विभानले डेलिभरी र अर्डर म्यानेजमेन्टमा सहयोग गरे। सुरेशले फेरि अर्को डेलिभरी कम्पनीसँग सम्झौता गरे, तर त्यो कम्पनीले पनि राम्रो सेवा दिएन। उनले डेलिभरीको लागि एक जना कर्मचारी नियुक्त गरे, र अर्डर म्यानेज गर्न अर्को एक जना राखे।
फेरि दशैं आयो, तर सुरेश घर गएनन्। उनी भन्छन्,”व्यापार सुरु गरेपछि घर जाननै डर लाग्थ्यो। त्यत्रो महँगो भाडा तिर्नुपर्ने। एक महिना घर बस्यो भने मेरो कुनै कमाई हुँदैन। दशैं तिहारमा व्यापार पनि हुन्थ्यो। ”
डेलिभरी कम्पनीले फेरि उनलाई दुःख दियो। सुरेश सम्झिन्छन्,‘दशैंको मुखमा कम्पनीले सामान बेचेको पैसा समेत दिएनन्। मैले भएको सबै पैसाको समान किनेर डेलिभरीमा पठाइसकेका थिए। पैसा पठाउँछु भन्दा भन्दै दशैं भनेर कम्पनी बन्द भयो। न पैसा हुने न दशैंको मुखमा घरमा पैसा माग्न मिल्ने। काम गर्छु भन्दै घर नगई नगई बसेको काम रोकेर बस्नुपर्ने भयो। म निकै निराश भएँ।’
जाडो मौसम फेरि आएको थियो। सुरेशलाई फेरि जाडोमा के गर्ने भन्ने प्रश्नले अफ्ट्यारो पार्यो। स्वेटशर्ट बेच्न थाले। तर बिक्री थोरै भइरहेको थियो। अनलाइन समान खरिद बिक्रीको बजार फेसबुकबाट टिकटकमा सरेको थियो। उनीहरूको प्रयासले राम्रो नतिजा आउन सकेन। ओपरेशन खर्च जुटाउन नसकेपछि व्यापार अगाडि बढाउन सुरेशले आफूले चड्दै गरेको स्कुटर बेचेर। भएका कर्मचरी कटौती गरे।
गर्मी मौसममा उनका व्यापारले बल्ल राम्रो पिकअप लिन थाल्यो। सुरेशले बल्ल व्यापारको वास्तविकता बुझ्न थाले। सुरेशले बल्ल आफ्नो बिजनेसको कि बुझ्न सुरु गरेका थिए। उनले महसुस गरे कि सीमित स्रोत साधनले महिनामा केवल १० दिन मात्र व्यवसाय गर्न सम्भव थियो, र स्रोत साधनको सही व्यवस्थापन गर्न नसक्दा विभिन्न समस्याहरूको सामना गर्नु परेको थियो।
सुरेशलाई आफ्नो ब्राण्ड ‘सीजनफ्लिप’ लाई टिसर्टको राम्रो ब्राण्ड बनाउन मन छ। उनी आफ्नो कम्पनीलाई नेपालमा टिसर्ट मात्र बेच्ने स्टोरको रूपमा स्थापित गर्न चाहन्छन्, र पछि नेपालमै राम्रो गुणस्तरको टिसर्ट उत्पादन गर्ने योजना छ।
सुरेशले विभिन्न आरोह अवरोहमा बिच व्यवसाय अगाडि नबढाउने सोच बनाएँ। गतवर्ष ३ वर्ष पछि बल्ल सुरेश घर गए। उनले सबै सामान बेचेर घर जाने सोच बनाएका थिए, तर साथीले आफ्नै कोठामा सामान राख्ने प्रस्ताव गरेपछि, सुरेशले भएका सबै समान साथीको कोठामा राखेर कोहलपुर फर्किए। त्यो जाडो मौसम उनले घरमै बिताए।
घरमा सुरेशलाई बारम्बार सोधिन्थ्यो, “अब के गर्छस्?” तर उनले फेरि व्यवसाय सुरु गर्छु भनेर भन्ने साहस जुटाउन सकेनन्। ‘अब फेरि बिजनेस गर्छु भन्ननी सक्दिनथे। ५ लाख पैसा र स्कूटर सके। त्यति हुँदापनि फेरि त्यही टिसर्ट बिजनेस जसले मेरो डाउनफल गर्यो फेरि त्यही किन गर्नु भनेर मन बुझारहेको थिए। मन भने मानेको थिएन | विदेश जाने कुरापनि आइरहेको थियो।’ सुरेश बताउँछन्।
सुरेश विगतलाई स्मरण गर्दै आफूलाई कसैले विश्वास नगरेकोमा दुःख व्यक्त गर्छन्।,‘आफन्त कसैले पनि मलाई तिम्रो बिजनेस मोडेल के हो सोधेनन्। तिमीले के काम गरिरहेका छौ, कति पैसा चाहिन्छ, कति पैसा खर्च गरिरहेका छौ भनेनन् । मलाई कुनै आफन्तले चासो दिएर सोध्नुभएन जति अष्ट्रेलियामा यो छ, यति घण्टामा यति कमाइन्छ, यहाँ यस्तो हुन्छ जस्तो हुन्छ भन्नु भयो। मेरो बिजनेस बुझ्न पनि खोज्नुभएन। मैले भनेको कुरा एउटा कानले सुनेर अर्को कानले उडाउनुहुन्थ्यो। सबैले मेरो आकांक्षालाई रहर सँग मात्र हेरे।’ उनी भन्छन।
सुरेशले थप्छन्, “सबैले गरिरहेको बेला मैले पनि त्यही गरेको हुनाले उहाँहरुलाई त्यस्तो लागेको होला, तर मेरो एप्रोच फरक थियो। मलाई कसैले बुझ्नै चाहेनन्। मलाई विश्वास थियो, आज यति थोरै हुँदा पनि यो व्यापार राम्रो छ, पछि सबैले विश्वास गर्न थाल्दा कस्तो होला। मेरो कोठाको एउटा कुनामा बसेर नेपालभर समान बेच्न पाउँदा एकदम राम्रो लाग्थ्यो। त्यो सपना देखेर नै मैले यो व्यापार सुरु गरेको हुँ। तर कसैले मेरो सपना बुझेर सोधेन, के गरिरहेको छस् भनेर।”
अन्तमा, सुरेश भन्छन्, “घरमा दशैंसम्म यही गर्छु भनेको छु। यदि दशैंसम्म राम्रो गर्न सके भने यहाँ नै बस्छु। नत्र विदेश जान्छु होला। कति एउटै कुरामा एक्लै लडिरहने?”
सुरेश आफ्ना विगतलाई स्मरण गर्दै भन्छन्, “समयक्रममा धेरै पैसा खर्च गरियो, तर सबै पैसा एकैपटक प्रयोग गरौं भन्ने पनि भएन| त्यस्तो हुन सकेको भए अर्कै हुन्थ्यो | व्यवसायमा कुनै समस्या आएमा क्यापिटल आवश्यक हुन्छ, तर त्यो मेरो लागि सधैं उपलब्ध थिएन। व्यवसायलाई व्यवसायकै रूपमा अघि बढाउन सकिनँ, व्यवस्थापनमा पनि राम्रो गर्न सकिएन। जब व्यवसाय राम्रो थियो, दुई जनालाई रोजगारी दिएँ, तर खर्च कटौती गरेर व्यवसायलाई स्थिर बनाउन सकिनँ। डेलिभरी कम्पनीको असहयोग र कठोर निर्णय लिनुपर्ने अवस्थामा निर्णय लिन सकिएन।”
उनी थप्छन्,”सपना देख्नु ठूलो कुरा हो, तर त्यसलाई पूरा गर्न जोश मात्र पर्याप्त हुँदैन। सबै कुरा बुझ्नुपर्छ। नेपालमा केही गर्न चाहनेहरूलाई सुरुमा नै व्यवसाय गर्नुपर्छ भन्ने छैन। जागिर गरेर व्यवसायको बारेमा बुझ्न सकिन्छ। नेपालमा परिवारबाट व्यवसायको लागि खासै समर्थन पाइँदैन। विदेश जानका लागि ३०-४० लाख रुपैयाँ दिन तयार हुन्छन्, तर नेपालमै केही गर्न चाहनेलाई १ लाख रुपैयाँ दिन अप्ठ्यारो मान्छन्। त्यही १ लाखलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा सिक्नुपर्छ।”
सुरेशले बाबा, मामी र आफ्नो बाट आइपीओ भर्दै आइरहेका थिए। अहिले तीनै आइपीओ बेचेर अलिअलि कमाएको पैसा र केही आशा लिएर सुरेश काठमाडौं फर्किएका छन्। हाल उनी आफ्नो व्यवसायको अन्तिम संघर्ष गरिरहेका छन्। तिहारसम्म मेहनत गर्ने र केही नभए विदेश जाने विकल्पलाई विचार गरिरहेका छन्। हाल, सुरेशले कालोपुल स्टोर सुरु गरेका छन्, जहाँ उनी कर्पोरेट ग्राहकलाई लक्षित गरेर टिसर्ट कस्टमाइज गर्दै सेवा दिन चाहन्छन्।
यो स्टोरको अर्को विशेषता भनेको सम्पूर्ण नेपाली उत्पादनहरूलाई एकै ठाउँमा राखेर प्रवर्द्धन गर्नु हो। सुरेशले देशभित्रैका ब्राण्डलाई आफ्नो स्टोरमा स्थान दिने सोच राखेका छन्। हामीले अन्तिम प्रश्न राख्यौ, विदेश जानुपर्यो भने के हुन्छ?, उनले गहिरो जवाफ दिए ‘आज भएँन भने भोलि, यही नेपालमै राम्रो टी-शर्ट ब्रान्ड स्थापित गर्नुछ।’
उनले थपे ‘म बाहिर गएर के हुन्छ हुँदैन थाहा छैन। तर यहाँ म वेल इस्टाब्लिश उद्यमी हुन सके, मेरो सपना पूरा हुन्थ्यो।’
सुरेशसंग जोडिन :
Season’s flip.
9829676100
https://www.facebook.com/Seasonsflip?mibextid=ZbWKwL
















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया