शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश प्रक्रियालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यका साथ ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ। परीक्षण सफल भएसँगै आगामी हप्तादेखि पानीमुहान र नागार्जुन प्रवेशद्वारबाट औपचारिक रूपमा सेवा सञ्चालन गरिने भएको छ।
सेवाहरूलाई डिजिटलमैत्री बनाउने सरकारको लक्ष्यअनुसार कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा ई–टिकेटिङ प्रणालीको परीक्षण गरिएको हो। निकुञ्जले परीक्षण सफल भएको जानकारी दिँदै सेवा चरणबद्ध रूपमा विस्तार गरिने जनाएको छ।
यस योजनाअन्तर्गत मन्त्रालयको सहयोगमा कम्प्युटर, थर्मल प्रिन्टर, क्यूआर (QR) स्क्यानर लगायत आवश्यक उपकरण उपलब्ध गराइनेछ। साथै, विद्युत् र इन्टरनेट सुविधा पुगेका अन्य प्रवेशद्वार तथा चेकपोस्टहरूमा पनि क्रमशः ई–टिकेटिङ सेवा विस्तार गरिने तयारी गरिएको छ।
मन्त्रालयले आगामी ६ महिनाभित्र देशभरका सबै राष्ट्रिय निकुञ्ज र आरक्षमा ई–टिकेटिङ सेवा सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ।
मन्त्री चौधरीका अनुसार यो प्रणाली लागू भएपछि पर्यटक प्रवेश प्रक्रिया थप छिटो, पारदर्शी र व्यवस्थित हुनेछ। साथै, राजस्व व्यवस्थापनलाई प्रभावकारी बनाउँदै सेवाग्राहीलाई सहज र आधुनिक सेवा उपलब्ध गराउन पनि यसले सहयोग पुग्नेछ।

प्रतिकृया