साउन १३ गते नेप्से सूचक ३०२८ को बिन्दुसम्म पुगेको थियो। सो दिनको क्लोजिंग भने ३००२ को बिन्दुमा भयो। यो नै विगत एक वर्षको अवधिमा नेप्सेले चुमेको उच्चतम बिन्दु हो। त्यसपछि बजार घट्दो क्रममा गयो। भदौ २३ मा जेन जी आन्दोलन भयो। सो दिन नेप्से सूचक २६७२ को बिन्दुमा क्लोज भएको थियो। त्यसपछि सेयर बजार बन्द रह्यो र एकैचोटी अशोज १ मा खुल्यो। खुलेकै दिन नेप्सेमा ६ प्रतिशतको नेगेटिभ सर्किट लाग्यो। सो बीचमा अर्थमन्त्रीको सकृयतामा सेयर बजार सुधार सुझाव कार्यदल गठन भयो। त्यसले बजारमा सकारात्मक संदेश दियो र नेप्से सूचक बढेर २६९० को बिन्दुसम्म पुग्यो।
जेन जी आन्दोलनपछिको शार्प फलमा नेप्से सूचक २४८२ को बिन्दुसम्म झरेको थियो। सुधार सुझाव कार्यदल बनेपछि २६९० आसपास सम्म पुग्यो र त्यसपछि पुन: गिरावटकै क्रममा गयो। कात्तिक ९ गतेका दिन नेप्से सूचक न्युनतम २४६९ को बिन्दुसम्म खसेको देखिन्छ। त्यसपछि फेरी बढेर मङ्सिर १४ मा २६९४ सम्म पुग्यो अनि गिरावटको क्रम सुरु भयो। पुष ८ का दिन २५६८ को बिन्दुसम्म खसेर बढ्दो क्रममा देखिएको नेप्से सूचक माघ ४ गतेका दिन २६६९ को बिन्दुमा क्लोज भएको छ।
डरको मनोविज्ञानबाट आशातर्फ
जेन जी आन्दोलनपछि देशको स्थिति एकाएक असामान्य बन्न पुग्यो। भाटभटेनी सुपर स्टोर, हिल्टन होटेल, सीजी ग्रुप लगायतका व्यापारीक संरचनाहरुमा समेत आगजनी र तोडफोड भएपछि व्यवसायिक जमातमा डर र त्रासको माहोल बन्यो। राजनीतिक अन्यौलताका कारण देशको अवस्था अझै कति भयानक भन्ने हो भन्ने अन्दाजा गर्न नसकिने परिस्थिती बनेको समयमा सेयर लगानीकर्ताहरुमा पनि डर, त्रास र अन्यौलताको मनोविज्ञान व्याप्त हुन पुग्यो। परिणाम स्वरुप बजारमा तिव्र गिरावट आयो।
जेन जी आन्दोलन पछिको ४ महिने अवधिमा नेप्से भदौ २३ अघिको बिन्दुमा प्रवेश गर्न सकेन। त्यो भनेको २७०० माथिको बिन्दु हो। नेप्से २/३ पटक सम्म २६९० आसपास पुग्यो तर टिक्न सकेन। अहिले फेरी नेप्से सूचक सोहि बिन्दुको आसपास छ। नेप्सेले यसपटक २७०० को मनोवैज्ञानिक बिन्दुलाई ब्रेक गर्दै बढ्दो क्रममा जाने विश्लेषण बजार जानकारहरुले गरेका छन्। त्यसो हुन सकेको खण्डमा सेयर बजार डरको मनोविज्ञानबाट आशाको मनोविज्ञान तर्फ बढेको स्पष्ट हुन जान्छ।
के छन् बलिया आधारहरु ?
फागुन २१ मा प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको छ। निर्वाचन आयोग तोकिएको मितिमै निर्वाचन गराउन प्रतिवद्ध देखिएको छ। निर्वाचन भए पनि पुरानै दल र पुरानै अनुहारहरु दोहोरिने भए भन्ने चिन्ता आम जनतामा देखिन्थ्यो। तर जनतामा लोकप्रिय छवि भनाएका बालेन्द्र शाह बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी चुनावमा जाने भएपछि वैकल्पिक शक्तिको सरकार बन्ने सम्भावना बढेर गएको विश्लेषण धेरैले गरे, जसले आशाको संचार गरायो। नेपाली कांग्रेसको सभापतिमा गगन थापा चुनिनु, निर्वाचन आयोगले वैधता प्रदान गर्नु, गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर कांग्रेस चुनावमा जानसक्ने देखिनु जस्ता पछिला घटनाक्रमहरुले समाजको वुद्धिजीवी वर्ग र व्यवसायिक जगत पनि आशावादी भएको देखिन्छ। नेप्सेमा बढ्दै गएको कारोबार रकमले आशावादी लगानीकर्ताहरुको उपस्थिति दर्बिलो बन्दै गएको दर्शाउँछ।
नेप्सेको चार्टमा ‘एसेन्डिङ ट्रयाङ्गल’ बन्दै
प्राविधिक विश्लेषणमा एसेन्डिङ ट्रयाङ्गल प्याटर्नको विशेष महत्व छ। यदि कुनै निश्चित जोनबाट मूल्यमा बारम्बार गिरावट आउँछ र मूल्य घट्दा हाइयर लो बन्दै जान्छ भने बारम्बार गिरावट आउने गरेको जोन ब्रेक भईसकेपछि मूल्यमा उछाल आउनसक्ने विश्लेषण यो प्याटर्नमा गरिन्छ। यदि २७०० आसपासको जोनलाई ब्रेक गर्दै नेप्से माथितिर लाग्न थाल्छ भने बजारमा राम्रो बढोत्तरी देख्न सकिनेछ।



















प्रतिकृया