१००० माथि मूल्य भएका कम्पनीको हकप्रद १०० रुपैयाँमा नभर्ने लगानीकर्ता पनि नेपालमै छन् !
नेपाली सेयरबजारमा लगानीकर्ताहरूले विभिन्न कम्पनीमा लगानी गरी नाफा कमाइरहे पनि धेरैले हकप्रद सेयर (राइट सेयर) बारे पर्याप्त जानकारी नहुँदा ठूलो नाफा कमाउने अवसर गुमाइरहेका छन्। हकप्रद सेयर भनेको विशेष गरी हाल कायम सेयरधनीलाई प्रस्ताव गरिने सेयर हो, जसले सेयरधनीलाई हाल कायम अनुपातमा थप सेयर खरिद गर्ने मौका दिन्छ। कम्पनीका लागि यो पुँजी संकलनको सजिलो माध्यम हो भने लगानीकर्ताका लागि बजार मूल्यभन्दा कममा सेयर खरिद गर्ने आकर्षक अवसर हो।
तर, लगानीकर्ताहरुमा हकप्रद सेयर बारेमा पर्याप्त जानकारी नभएकै कारण धेरै जसो कम्पनीको राइट सेयर पूर्ण रुपमा बिक्री नभएर लिलामी मार्फत बिक्री गरिन्छ। पछिल्लो समयमा हकप्रद अनुमति पाएका कम्पनी जस्तै: एलआइसी नेपाल, एनएलजी इन्स्योरेन्स, लीबर्टी ईनर्जी र बलेफी हाइड्रोपावरले पनि जारी गरेको सेयर पुरै बिक्री नभएका कारण लिलामी मार्फत बिक्रीमा ल्याउनु परेको छ। दाेस्राे बजारमा १ हजार भन्दा माथी सेयर मूल्य रहेको एलआइसी नेपाल र एनएलजी इन्स्योरेन्स र २०० रुपैयाँ भन्दा माथि मूल्य रहेको लीबर्टी इनर्जी र बलेफी हाइड्रो पावर कम्पनीको हकप्रद सेयर मात्र सय रुपैयाँमा किन्न पाउँदा पनि लगानीकर्ताहरु हकप्रद भर्न छुटाउँछन् र ठूलो नाफा कमाउने बाट वञ्चित हुने गर्दछन्।
एलआइसी नेपालले १:०.८८४५१६८ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गरेको थियो। आवेदन म्याद पुस १७ सम्म खुला गरिएको थियो। तर, जारी सेयरमध्ये हकप्रद आवेदन नपरेको ४ लाख ९२ हजार ५७७ कित्ता बाँकी रहेको छ, जसलाई अब कम्पनीले लिलामीमार्फत बिक्री गर्नेछ।
एनएलजी इन्स्योरेन्सले १०:६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२ कित्ता हकप्रद सेयर मङ्सिर ११ देखि पुस १ सम्म खुला गरेको थियो। तर ३ लाख २० हजार ५३३ कित्ता सेयर बिक्री नभएर बाँकी रहेको छ। कम्पनीले बाँकी सेयर आगामी माघ २० देखि लिलामीमा ल्याउँदैछ।
लिबर्टी इनर्जीले १:०.५ अनुपातमा ७५ लाख कित्ता हकप्रद सेयर मङ्सिर १६ देखि पुस ७ सम्म आवेदन खुला गरेको थियो। तर ८ लाख २६ हजार ५७४ कित्ता सेयर बिक्री नभएकाले कम्पनीले माघ २ देखि ९ सम्म लिलामीमार्फत बिक्री गरेको छ।
बलेफी हाइड्रो पावर लिमिटेडले १:१ अनुपातमा १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता सेयर जारी गरेको थियो। मङ्सिर २७ देखि पुस १९ सम्म आवेदन खुला गर्दा पनि १७ लाख ९८ हजार ६५६ कित्ता बाँकी रह्यो। कम्पनीले बाँकी सेयर लिलामीमा ल्याउने तयारी गरेको छ।
यसरी यी कम्पनीहरुले बिक्री नभएको हकप्रद सेयर लिलामी मार्फत ल्याउँदै आएका छन्। दोस्रो बजारमा यी कम्पनीहरूको सेयर मूल्य उच्च भएकाले हकप्रद सेयर सय रुपैयाँमा खरिद गर्न सकिने र राम्रो नाफा कमाउने अवसर हो । तर लगानीकर्तामा जानकारीको अभावका कारण यस्तो अवसर गुमाईरहेका छन।
हकप्रद सेयरमा लगानी गर्दा कसरी फाइदा हुन्छ ?
बजारमा हकप्रद सेयरको लगानी गरेर फाइदा कमाउने दुईवटा प्रमुख कारण छन्। पहिलो, सस्तो मूल्यमा सेयर किन्न पाइने र दोस्रो, बजारमा ती सेयरहरू उच्च मूल्यमा बेच्न सकिने सम्भावना। पछिल्लो समयमा हकप्रद सेयरमा लगानी गर्ने धेरैले अल्पकालीन र दीर्घकालीन रूपमा राम्रो नाफा आर्जन गरेका छन्।उदाहरणका रूपमा पछिल्लो समयमा जारी गरेको हकप्रद सेयर बजारमा सूचीकृत हुने वित्तिकै अत्यधिक मूल्यमा कारोबार भएको तथ्यांक देख्न सकिन्छ।हकप्रद जारी गरेका कम्पनीहरुको मूल्य एडजस्ट भएपछि पनि माथि उचालिने भएकाले लगानीकर्ताले यस्ता कम्पनीबाट राम्रै नाफा कमाएका छन।
कम्पनीले हकप्रद सेयर ल्याउनु अघि बुक क्लोज मिति तय हुन्छ। बुक क्लोज मितिसम्म सेयर होल्ड गरेका सेयरधनीले हकप्रद भर्न पाउँछन्। बुक क्लोज पछि सेयर मूल्य समायोजन हुन्छ। उदाहरणका लागि १:०.८८४५१६८ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गरेको एलआईसी नेपालको सेयर मूल्य समायोजन हुनुअघि २००० को आसपासमा थियो। हकप्रदको बुक क्लोज भएपछि मूल्य एडजस्ट भएर ११२० को आसपासमा झर्यो। यो समाचार तयार पार्दाको अवस्थामा उक्त कम्पनीको सेयर मूल्य १०८९ रुपैयाँ प्रतिकित्ता छ। हकप्रद सेयर भर्नेले त १०० रुपैयाँमा ८८% सेयर पाए, उनीहरुको सेयर कित्ता बढ्यो तर हकप्रद नभर्नेको सेयर कित्ता पनि बढेन र यता हकप्रद समायोजन भएर मूल्य पनि आधाले घट्यो। यसरी हकप्रद नभर्नेको सेयर संख्या स्थिर रहन्छ र मूल्य घटेकाले उनीहरूको नाफा घटछ भने हकप्रद सेयर भर्नेको कम लगनीमा सेयर कित्ता बढ्छ ।