पोखरा विश्वविद्यालयले छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आवेदन आह्वान गरेको छ। विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायअन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा सञ्चालन हुने स्नातकोत्तर तहका ‘March Intake 2026’ कार्यक्रमहरूका लागि छात्रवृत्ति आवेदन खुला गरिएको हो।
विश्वविद्यालयद्वारा प्रकाशित सूचनाअनुसार पोखरा विश्वविद्यालय छात्रवृत्ति सम्बन्धी नियमावली, २०६५ बमोजिम योग्य उम्मेदवार छनोट गरिनेछ। न्यूनतम योग्यता पुगेका इच्छुक विद्यार्थीहरूले अनलाइनमार्फत प्रवेश परीक्षाका लागि आवेदन दिन सक्नेछन्।
यस छात्रवृत्ति अन्तर्गत विभिन्न कार्यक्रमहरूमा कुल ४३ जना विद्यार्थी छनोट गरिनेछन्। जसअनुसार मास्टर अफ कम्प्युटर इन्जिनियरिङमा ६, मास्टर अफ साइन्स इन कम्प्युटर साइन्समा ३, मास्टर अफ साइन्स इन स्ट्रक्चरल इन्जिनियरिङमा ४, मास्टर अफ साइन्स इन कन्स्ट्रक्सन म्यानेजमेन्टमा १५, मास्टर अफ साइन्स इन ट्रान्सपोर्टेशन इन्जिनियरिङमा ९, मास्टर अफ साइन्स इन इन्भारोमेन्टल साइन्स एण्ड म्यानेजमेन्टमा ३ तथा मास्टर अफ साइन्स इन्टरडिसिप्लिनरी वाटर रिसोर्स म्यानेजमेन्टमा ३ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्नेछन्।
विद्यार्थीहरूले चैत्र ५ गतेदेखि २०८३ वैशाख ७ गते राति १२ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन्। छात्रवृत्ति छनोटका लागि प्रवेश परीक्षा वैशाख १३ गते आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा पोखरा महानगरपालिका ३० ढुङ्गेपाटनस्थित स्कुल अफ इन्जिनियरिङ तथा ललितपुर महानगरपालिका ९ च्यासलस्थित श्रमिक शान्ति क्याम्पसमा सञ्चालन गरिनेछ।
छात्रवृत्तिसम्बन्धी कार्यक्रम, आवेदन प्रक्रिया तथा अन्य विस्तृत जानकारी विश्वविद्यालयको आधिकारिक वेबसाइट र छात्रवृत्ति शाखाको पोर्टलमा उपलब्ध रहेको छ। साथै थप जानकारीका लागि विज्ञान तथा प्रविधि संकायको फोन नम्बरमार्फत पनि बुझ्न सकिने विश्वविद्यालयले जनाएको छ।
















प्रतिकृया