सागर डिष्टिलरी लिमिटेडले आगामी भदौ २५ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओको बाँडफाँड सम्पन्न भइसकेको छ।
कम्पनीले ७२ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजीको २० प्रतिशतबराबर १४ करोड ५२ लाख रुपैयाँका १४ लाख ५२ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको हो। तीमध्ये १ लाख ४५ हजार २०० कित्ता (१०%) वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ७२ हजार ६०० कित्ता (५%) सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ भने ४३ हजार ५६० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ।
अब भने सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख ९० हजार ६४० कित्ता (११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबर) सेयर बिक्रीमा आउँदैछ। यसमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र मागअनुसार आवेदन नपरेमा अवधि असोज ८ गतेसम्म लम्बिन सक्नेछ।
कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले आईआरएन सिंगल बी प्लस रेटिङ्ग दिएको छ, जसले उच्च जोखिम देखाउँछ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।




















प्रतिकृया