राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालको निजी क्षेत्र, गैरआवासीय नेपाली (डायस्पोरा) र अन्तर्राष्ट्रिय समुदायलाई देशमा निर्धक्क रूपमा लगानी गर्न आह्वान गरेका छन्। उनले नयाँ दल र नयाँ अनुहारहरू सत्ता र शक्तिमा आए पनि अर्थतन्त्र र लगानीको वातावरणमा कुनै नकारात्मक प्रभाव नपर्ने सुनिश्चित गर्दै सबैलाई आश्वस्त पारेका छन्।
लामिछानेले पार्टीको प्रमुख एजेण्डा देशको आर्थिक समृद्धि रहेको बताए र निजी क्षेत्रलाई कतै पनि विचलित नहुने आग्रह गरे। उनले विदेशमा रहेका नेपालीहरूको पुँजी र सीप देश निर्माणको अभियानमा अपरिहार्य भएको उल्लेख गर्दै, डायस्पोरालाई नेपालमै आएर काम गर्न अपिल गरे।
साथै, उनले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई लक्षित गर्दै भने, “नेपाल लगानीका लागि सुरक्षित गन्तव्य हो। तपाईंले निर्धक्क रूपमा काम गर्न सक्ने वातावरण हामी निर्माण गर्छौं। तपाईंको लगानी सुरक्षित छ र कुनै प्रकारको बाधा वा अड्चन हुने छैन। कुनै अमुक नेता वा पार्टीले होइन, देशको नीतिले तपाईंलाई संरक्षण गर्नेछ।”
अन्ततः, लामिछानेले देशमा उद्योग र कलकारखाना सञ्चालन, रोजगारी सिर्जना, र सुशासनमा नयाँ मानक स्थापना गर्दै आर्थिक समृद्धिको मार्गमा अहोरात्र काम गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरे।
















प्रतिकृया