ओपीडी सेवाको सीमा घटेपछि प्रधानमन्त्रीले स्वास्थ्य बीमा छलफलका लागि बोलाइन सर्वपक्षीय बैठक

ओपीडी सेवाको सीमा घटेपछि प्रधानमन्त्रीले स्वास्थ्य बीमा छलफलका लागि बोलाइन सर्वपक्षीय बैठक

स्वास्थ्य बीमा बोर्डले बढ्दो खर्चलाई कारण देखाउँदै वार्षिक बहिरंग (ओपीडी) सेवाको सीमा २५ हजार रुपैयाँमा घटाएपछि व्यापक आलोचना भएको छ। यसपछि प्रधानमन्त्री सुशीला कार्कीले उत्पन्न अवस्थाबारे छलफल गर्न सर्वपक्षीय बैठक बोलाएकी छन्।

बैठक आज बुधबार दिउँसो १:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ। बैठकमा स्वास्थ्य बीमासँग सम्बन्धित सबै निकायका प्रतिनिधिहरूलाई सहभागी हुन बोलाइएको छ।

बैठकमा स्वास्थ्य बीमा सुविधामा गरिएको कटौती, त्यसको प्रभाव र समाधानका उपायबारे विस्तृत छलफल हुने बताइएको छ।

स्वास्थ्य बीमा बोर्डले हाल सात सदस्यीय परिवारबाट ३ हजार ५ सय रुपैयाँ शुल्क लिएर वार्षिक १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो। तर, अस्पतालहरूलाई भुक्तानी गर्नुपर्ने रकम अत्यधिक बढेको जनाउँदै सोमबार बोर्डले सूचना जारी गरी सुविधामा कटौती गरेको हो। नयाँ व्यवस्थाअनुसार स्वास्थ्य बीमा गरेका परिवारले अब वर्षभरि अधिकतम २५ हजार रुपैयाँसम्मको ओपीडी सेवा पाउनेछन्।

यस निर्णयले सेवाग्राहीमा असन्तुष्टि बढेपछि सरकार स्वयं समस्या समाधानमा जुटेको हो। प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमा समस्याको समाधानका लागि आज अपराह्न बैठक आह्वान गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

केही समयदेखि देशभरका अस्पतालहरूले स्वास्थ्य बीमाबापतको रकम नपाउँदा सेवा बन्द गर्ने निर्णय गरेका थिए। स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमाबापत रकम नपाउँदा सेवा प्रवाहमा कठिनाइ भइरहेको जनाएका छन्।

स्वास्थ्य बीमा बोर्डका अनुसार देशभर सूचीबद्ध स्वास्थ्य संस्थालाई रु १० अर्बभन्दा बढी भुक्तानी बाँकी छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स