नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालसमेत ९३ जनाविरूद्ध दर्ता गरिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षी बुझ्ने आदेश दिएको छ।
पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले आइतबार साक्षी बुझ्ने आदेश दिएको हो।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा साक्षी बुझ्ने आदेश दिएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरूद्ध जेठ २२ गते मुद्दा दर्ता गरेको थियो। अख्तियारको आरोप अनुसार नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले काभ्रेको साँगामा रहेको हदबन्दी छुट जग्गालाई कानुन विपरीत खरिद–बिक्री गर्न अनुमति दिएको थियो।
२०७६ माघ १८ गते मन्त्रिपरिषद्ले ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न पतञ्जलीलाई स्वीकृति दिएको थियो। त्यसपछि २०७६ चैत ६ गते पतञ्जलीले हदबन्दी छुटमा किनेको जग्गा बिक्री गर्न पाउने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो। यस निर्णयपछि भ्रष्टाचारको आशंकामा अख्तियारले अनुसन्धान अघि बढाएको थियो।
अख्तियारले नेपालविरूद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेको थियो। प्रारम्भिक सुनुवाइको क्रममा विशेष अदालतले असार ११ गते उनलाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
















प्रतिकृया