प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौँको तीनकुने क्षेत्र र आसपासका स्थानहरूमा अब कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्ना तथा अन्य कार्यक्रम गर्न नदिने गरी सरकारलाई निर्देशन दिएको छ। समितिको शुक्रबार बसेको बैठकले चैत १५ गते राजावादी समूहद्वारा गरिएको प्रदर्शनका क्रममा उत्पन्न हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता गतिविधिहरूलाई निरुत्साहित गर्न सरकारलाई निर्देशन दिएको हो।
समितिले सो दिन घटेको घटनाको सत्यतथ्य छानविन गर्न, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न व्यक्तिहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ। साथै, यस्ता हिंसात्मक घटनाहरू भविष्यमा दोहोरिन नदिन सरकारलाई थप गम्भीर र जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरिएको छ। समितिले संविधान, कानून र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न राज्य संयन्त्र दृढ भएर लाग्नुपर्नेमा जोड दिएको छ।
बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई स्रोतसाधन सम्पन्न बनाउन आवश्यक बजेटको व्यवस्था गर्नसमेत गृह मन्त्रालयमार्फत सरकारलाई निर्देशन दिएको छ। सुरक्षाका संयन्त्र बलियो बनाउन र सार्वजनिक सुरक्षाको प्रत्याभूति गर्न समितिले आग्रह गरेको छ।
चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बन्दै गएपछि प्रहरीसँग झडप भएको थियो। त्यस घटनाले राजधानीको शान्ति सुरक्षा चुनौतीमा परेको भन्दै समितिले यसप्रकारका गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ।
प्रतिकृया