पाँचथर पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनी अघिल्लो वर्षको सोही अवधिमा घाटामा रहे पनि चालु वर्ष नाफामा फर्किएको छ। कम्पनीको खुद नाफा ५ करोड १५ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ करोड ५६ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट
बाढीका कारण आयोजना लामो समयसम्म सञ्चालनमा नआए पनि यस अवधिमा मर्मत सम्पन्न गरी पुनः विद्युत उत्पादन सुचारु गरेपछि कम्पनीको नाफामा सुधार भएको हो। २०८० आषाढ महिनामा आएको बाढीले यस आयोजनालाई क्षति पुर्याएको थियो भने २०८१ असोज १२ गते पुनः बाढी आइ आयोजनाको सिभिल संरचना सहित पावर हाउस र इलेक्ट्रो मेकानिकल इक्यूपमेन्टमा समेत क्षति पुगेको कम्पनीले जनाएको छ। सोको मर्मत कार्य सम्पन्न गरी मिति २०८१ चैत्र १६ गतेदेखि विद्युत उत्पादन पुनः सुचारु गरिएको हो।
समीक्षा अवधिसम्म पाँचथर पावरले विद्युत बिक्रीबाट १४ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीका अनुसार, आयोजनाबाट हाल नियमित रूपमा विद्युत उत्पादन भईरहेको छ। तर, नेपाल विद्युत प्राधिकरणले समय समयमा डिस्प्याच इन्स्ट्रक्सन जारी गर्ने भएकाले आयोजना पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको उल्लेख गरिएको छ।
पहिलो त्रैमाससम्म कम्पनीको कर्मचारी खर्च २९ लाख १२ हजार रुपैयाँ, अन्य सञ्चालन खर्च १५ लाख ३३ हजार रुपैयाँ रहेको छ।यस्तै, वित्त खर्च ४० लाख ७४ हजारबाट बढेर ५ करोड १६ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको चुक्ता पूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ भने रिजर्भको आकार ३ करोड ८२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ। कम्पनीको कुल चालु सम्पत्ति १० करोड ७६ लाख रुपैयाँ र कुल चालु दायित्व २२ करोड ४९ लाख रुपैयाँ रहेको छ।
यस अबधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३५ पैसा, प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ३ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३०६ रुपैयाँ ५६ पैसा र तरलता अनुपात ४८ गुणा कायम भएको छ।


प्रतिकृया