ओलीको ‘म झोले हो’ अभियान पछिको भारत कनेक्सन!

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १९ गते
ओलीको ‘म झोले हो’ अभियान पछिको भारत कनेक्सन!

सोमबार बिहानदेखि नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूको सामाजिक सञ्जालमा एकै किसिमका पोस्टहरू देखिन थाले। ती पोस्टहरूमा “म झोले हो” लेखिएको थियो। पोस्टमा थप लेखिएको थियो, “एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो।” यसपछि प्रधानमन्त्री ओलीकै शैलीमा धेरै एमाले नेता र कार्यकर्ताहरूले समान पोस्टहरू सामाजिक सञ्जालमा सेयर गर्न थाले।

नेपाली राजनीतिक परिप्रेक्ष्यमा ‘झोले’ शब्दले खासगरी पार्टीको आदेश पूर्णरूपमा पालना गर्ने राजनीतिक कार्यकर्तालाई जनाउँछ। यो शब्द पछिल्लो केही वर्षयता पुराना राजनीतिक दलका कार्यकर्ताहरूको लागि उपनामझैं बनेको छ। यतिबेला भने धेरैले ‘पुराना राजनीतिक दलको कार्यकर्ता हुँ’ भन्न समेत लाज महसुस गर्ने अवस्था छ। यस्तै अवस्थामा प्रधानमन्त्री ओलीले सोमबार एकाएक ‘म झोले हो’ अभियान सार्वजनिक गरे।

अहिले यो अभियान अधिकांश एमाले कार्यकर्ताबीच व्यापक रूपमा फैलिएको छ। प्रधानमन्त्री ओलीको यो अभियान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको “में भी चौकीदार” अभियानसँग मिल्दोजुल्दो देखिएको छ। भारतमा २०१४ मा प्रधानमन्त्री बन्ने क्रममा मोदीले आफूलाई देशको ‘चौकीदार’ भनेर चिनाएका थिए। उनले भ्रष्टाचारविरुद्ध लड्ने र राष्ट्रिय सम्पत्ति तथा स्रोतहरूको सुरक्षा गर्ने भूमिकामा आफूलाई प्रस्तुत गरेका थिए।

तर २०१९ मा भारतीय कांग्रेस पार्टीका नेता राहुल गांधीले मोदी सरकारमाथि राफेल हवाईजहाज सम्झौतासँग जोडिएको भ्रष्टाचारको आरोप लगाउँदै “चौकीदार चोर है” भन्ने नारा अघि सारे। यसकै प्रत्युत्तरमा मोदीले मोदीले “में भी चौकीदार” (म पनि चौकीदार) अभियान सुरू गरेका थिए। यसपछि, भारतीय जनता पार्टीका नेतादेखि समर्थकहरूले समेत आफ्नो नामसँग “चौकीदार” जोडेर डिजिटल अभियान चलाए।

मोदीको अभियानले आफू मात्र नभएर सम्पूर्ण भ्रष्टाचारविरोधी भारतीय नागरिकहरूलाई राष्ट्रका चौकीदारका रूपमा सहभागी गराउन अभियान चलाएको थियो। यसरी विपक्षीको आरोप उल्ट्याउँदै मोदीले “चौकीदार” शब्दलाई गौरवको प्रतीक बनाएका थिए। प्रधानमन्त्री ओलीले अहिले “म पनि झोले” अभियान ल्याउनुको पछाडि पनि यस्तै उद्देश्य देखिन्छ। अहिले ओलीले सोही शब्दलाई आफ्नै पक्षमा प्रयोग गर्दै यसलाई गौरवको प्रतीक बनाउन खोजेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स