नेपाल राष्ट्र बैंकले २०० र ५०० दरका भारतीय रुपैयाँका नोट नेपालमा ल्याउन पाउने व्यवस्था गरेको छ। शुक्रबार सार्वजनिक गरिएको सूचनाअनुसार अब २५ हजार भारतीय रुपैयाँ ननाघ्ने गरी यी दरका नोट नेपालमा ल्याउन सकिनेछ।
यसअघि लागू रहेको व्यवस्थाअनुसार २५ हजार भारतीय रुपैयाँसम्म ल्याउन पाइने भए पनि १०० रुपैयाँ वा सोभन्दा कम दरका नोट मात्र बोक्न अनुमति थियो। नयाँ व्यवस्थासँगै २०० र ५०० दरका नोटसमेत ल्याउन बाटो खुलेको हो।
यस व्यवस्थाबाट विशेषगरी भारतबाट नेपाल आउने पर्यटक तथा भारतमा रोजगारी गरेर फर्कने नेपालीलाई सहज हुने अपेक्षा गरिएको छ। विशेष गरी ५०० दरका नोट ल्याउन नपाउँदा भोग्नुपरेको असहजता अब हट्नेछ।
यद्यपि, २ हजार दरका भारतीय नोटमाथिको प्रतिबन्ध भने यथावत् रहने राष्ट्र बैंकले स्पष्ट गरेको छ।
राष्ट्र बैंकले नेपालमा ल्याइने २०० र ५०० दरका भारतीय नोट भारत सरकारले सन् २०१६ को नोभेम्बर वा त्यसपछि जारी गरेका हुनुपर्ने व्यवस्था पनि गरेको छ।
भारतले सन् २०१६ मा नोटबन्दी लागू गरेपछि नेपालमा ठूला दरका भारतीय नोटको ओसारपसारमा प्रतिबन्ध लगाइएको थियो।
प्रतिकृया