नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूलाई मनपरी रूपमा निशुल्क वाईफाई हटस्पट सेवा सञ्चालन गर्न रोक लगाएको छ। प्राधिकरणले मोबाइल सेवा दिने कम्पनीहरूलाई मात्र यस्तो सेवा दिने छुट भएको भन्दै अन्यलाई कडाइका साथ नियमन गर्ने चेतावनी दिएको हो।
प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै वाईफाई हटस्पट सेवा सञ्चालन गर्दा “वाईफाई हटस्पट विनियमावली, २०७५” अनुसार सेवा दिनुपर्ने स्पष्ट पारेको छ। सो नियमअनुसार मोबाइल सेवा दिने अनुमति प्राप्त कम्पनीहरूले मात्रै कुनै पनि ठाउँमा वाईफाई हटस्पट सेवा दिन पाउनेछन्। अन्य इन्टरनेट सेवा प्रदायकहरूले भने सीमित स्थान र समयका लागि मात्र सेवा दिन पाउनेछन्।
हाल वल्र्डलिंकले देशभर १४ हजारभन्दा बढी ठाउँमा ‘वाईफाई एक्सप्रेस’को नाममा निशुल्क हटस्पट सेवा दिँदै आएको छ। एक पटक लगइन गरेपछि दोहोर्याएर पासवर्ड हाल्न नपर्ने यो सेवा लामो समयसम्म स्वतः चलिरहने व्यवस्था छ। प्राधिकरणका अनुसार यस्तो सेवा हालको कानुनी व्यवस्थाविपरीत हो।
सञ्चार मन्त्रालयको निर्देशनपछि प्राधिकरणले वल्र्डलिंकसहितका सबै आईएसपीलाई तोकिएको नियम पालना गर्न निर्देशन दिएको हो। नियम नमान्ने कम्पनीहरूलाई कारबाही गरिने पनि चेतावनी दिइएको छ।
प्राधिकरणले वाईफाई हटस्पट सेवा सञ्चालन गर्दा रेडियो फ्रिक्वेन्सी नीति, २०८० अनुसार तोकिएका सर्तहरू: पावर लिमिट, अनुमति प्राप्त उपकरणको प्रयोग, तथा ब्याकहोल/ब्याकबोन सिमितता अनिवार्य रूपमा पालना गर्नुपर्ने पनि स्पष्ट पारेको छ।


प्रतिकृया