निगालो होटल लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धक (इश्यू म्यानेजर) को रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो। यससम्बन्धी सम्झौतामा निगालो होटल लिमिटेडका अध्यक्ष टिका राज बराल र मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
नगरकोटमा अवस्थित परम्परागत तथा सांस्कृतिक शैलीको वास्तुकलामा निर्माण गरिएको चारतारे स्तरको यस होटलले आफ्नो जारी पूँजीको २५ प्रतिशत बराबरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीका अनुसार निगालो होटलले परम्परागत हेरिटेज अनुभव र आधुनिक आतिथ्य सेवाको संयोजनमार्फत फरक पहिचान स्थापित गर्ने लक्ष्य लिएको छ । होटल परिसरमा निर्माण गरिएको विशेष भ्यू टावरबाट हिमाल, काठमाडौं, भक्तपुर तथा ललितपुर उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिने बताइएको छ ।
सञ्चालनको अन्तिम चरणमा रहेको होटलमा ६८ वटा प्रिमियम कोठा (सुइट सहित), ३ वटा बैंक्वेट हल, ३ वटा रेस्टुरेन्ट, बार, स्विमिङ पुल, स्पा, जिम, ध्यान कक्ष, कफी शप, म्युजिक क्लब लगायतका विश्वस्तरीय सुविधा रहनेछन् । साथै, दीर्घकालीन रणनीतिअन्तर्गत भविष्यमा उक्त क्षेत्रकै पहिलो क्यासिनो सञ्चालन गर्ने योजना पनि कम्पनीले अघि सारेको छ ।आईपीओ निष्काशनपछि निकट भविष्यमा पोखरा, काठमाडौं र चितवनजस्ता प्रमुख शहरहरूमा सेवा विस्तार गर्ने दीर्घकालीन योजना रहेको कम्पनीका अध्यक्ष बरालले जानकारी दिए ।
कम्पनीका संस्थापक तथा प्रवर्द्धक समूहमा पर्यटन, जलविद्युत्, बैंकिङ र शैक्षिक क्षेत्रमा लामो अनुभव भएका व्यवसायीहरूको संलग्नता रहेको छ। होटल सञ्चालन २५ वर्षभन्दा बढी अनुभव भएका व्यवस्थापकहरूको नेतृत्वमा गरिने कम्पनीको भनाइ छ ।करिब १ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको निगालो होटल आगामी चार महिनाभित्र सञ्चालनमा आउने कम्पनीले जनाएको छ । यसका साथै भारतीय तथा अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीहरूसँग सहकार्य गरी रणनीतिक रूपमा होटल सञ्चालन गर्ने विषयमा समेत अध्ययन भइरहेको जानकारी दिइएको छ ।




















प्रतिकृया