९ महिनामा झण्डै १२ खर्ब रेमिट्यान्स भित्रियो, वैदेशिक रोजगारीमा जानेको संख्या बढेको बढै

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २८ गते
९ महिनामा झण्डै १२ खर्ब रेमिट्यान्स भित्रियो, वैदेशिक रोजगारीमा जानेको संख्या बढेको बढै

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा नेपालमा झण्डै १२ खर्ब रुपैयाँको रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार, सो अवधिमा कुल ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण वृद्धिदर १७.२ प्रतिशत थियो।

अमेरिकी डलरमा हेर्दा विप्रेषण ७.३ प्रतिशतले बढेर ८ अर्ब ७४ करोड पुगेको छ। अघिल्लो वर्ष यो वृद्धिदर १५.२ प्रतिशत थियो। यद्यपि वृद्धिदर केही कम भए पनि, कुल परिमाण भने अझै उच्च देखिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।यस अवधिमा खुद द्वितीय आय पनि बढेर १३ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ११ खर्ब ७४ अर्ब ५४ करोड थियो।

साथै, वैदेशिक रोजगारीका लागि जाने श्रमिकको संख्या पनि बढेको छ। पहिलो ९ महिनामा ३ लाख ५८ हजार २२२ जनाले पहिलो पटक श्रम स्वीकृति लिएका छन् भने २ लाख ४९ हजार ६५२ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्षको सोही अवधिमा क्रमशः ३ लाख २७ हजार ८४२ र २ लाख ११ हजार २२६ जनाले श्रम स्वीकृति लिएका थिए।

विदेशबाट भित्रिने विप्रेषण र श्रम स्वीकृति संख्या दुवैको वृद्धि नेपालको वैदेशिक आयमा सकारात्मक प्रभाव पार्ने संकेतका रूपमा हेरिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स