फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि २२ वटा कम्युनिष्ट र समाजवादी पार्टी तथा समूहहरू मिलेर बनेको नवगठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले बिहीबार आफ्नो चुनावी अपिल सार्वजनिक गरेको छ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालद्वारा हस्ताक्षरित अपिलमा, विगतका कमीकमजोरी सच्याउँदै देशको अवस्था बदल्न ‘तारा’ चुनाव चिन्हमा मतदान गर्न आम मतदातालाई आग्रह गरिएको छ। पार्टीको मुख्य नाराः ‘व्यवस्था बदल्यौं, अब अवस्था बदल्छौं’ अन्तर्गत सुशासन, आर्थिक रूपान्तरण र राष्ट्रिय स्वाधीनता प्रमुख चुनावी मुद्दा बनाइएको छ।
पार्टीले वर्तमान निर्वाचन प्रणाली अत्यन्त खर्चिलो, जटिल र अस्थिर रहेको निष्कर्ष निकाल्दै कम खर्चिलो र सरल प्रणाली अपनाउनुपर्नेमा जोड दिएको छ। कुनै पनि दलको एकल बहुमत नआउने र गठबन्धनका कारण देशमा अस्थिरता बढेको हुँदा प्रणाली सुधार अनिवार्य रहेको अपिलमा उल्लेख छ।
त्यसैगरी, जनताको बलिदानबाट प्राप्त संविधान खारेज गर्न खोज्ने अतिवादी विचारलाई परास्त गर्दै संविधानको गम्भीर समीक्षा र आवश्यक परिमार्जन गर्ने अठोट लिएको छ। लोकतान्त्रिक गणतन्त्र र समावेशी प्रणालीलाई थप सुदृढ गर्दै वैज्ञानिक समाजवादतर्फ अघि बढ्ने लक्ष्य पनि अपिलमा समावेश गरिएको छ।
पार्टीले सुशासन र पारदर्शीतालाई उच्च प्राथमिकतामा राख्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने कडा नीति अघि सारेको छ। सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने र भ्रष्टाचारबाट कमाएको सम्पत्ति राष्ट्रियकरण गर्ने प्रतिबद्धता पनि अपिलमा उल्लेख गरिएको छ।
साथै, संघीयताको मर्मअनुसार जनतालाई घरदैलोमै प्रभावकारी सेवा प्रवाह गर्दै कमिसनतन्त्र, ढिलासुस्ती र अपारदर्शिताजस्ता बेथितिहरूको अन्त्य गर्ने दाबी गरिएको छ।
पार्टीले आर्थिक-सामाजिक रूपान्तरण र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्य राखेको छ। आयातमा आधारित राजस्व र बढ्दो व्यापार घाटालाई घटाउँदै कृषि, उद्योग, जलस्रोत र पर्यटनको विकासमार्फत स्वदेशमै रोजगारी सिर्जना गर्ने योजना समावेश छ। दलाल पुँजीवाद, कालोबजारी र मिटरब्याजी नियन्त्रण गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, खाना र आवासमा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने ‘वैज्ञानिक समाजवाद’को आधार तयार पार्ने वाचा गरिएको छ।
साथै, समाजमा विद्यमान छुवाछुत, छाउपडी, बोक्सी प्रथा लगायतका सर्व प्रकारका वर्गीय, जातीय र लैंगिक विभेदको अन्त्य गर्ने प्रतिबद्धता अपिलमा उल्लेख गरिएको छ।
राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्दै पार्टीले पञ्चशील सिद्धान्तमा आधारित स्वतन्त्र परराष्ट्र नीति अपनाउने जनाएको छ। कुनै पनि विदेशी हस्तक्षेप अस्वीकार गर्दै छिमेकीसहित सबै मुलुकसँग समानताका आधारमा सम्बन्ध राख्ने, असमान सन्धि सम्झौता खारेज गर्ने र अतिक्रमित नेपाली भूमि फिर्ता गर्ने विषयलाई अपिलमा प्राथमिकताका साथ उठाइएको छ।















प्रतिकृया