नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले १७औं संस्करणको नाडा अटो शो २०२५ आगामी २०८२ भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना गर्ने भएको छ।
प्रदर्शनीका लागि आज (फागुन २७) देखि चैत्र ४ गतेसम्म स्टल बुकिङका लागि रजिस्ट्रेसन खुला गरिएको छ। अघिल्ला संस्करणहरूमा जस्तै, स्टलको माग अत्यधिक रहेकोले गोला प्रणालीमार्फत वितरण गरिनेछ।
प्रदर्शनीमा २-पाङ्ग्रे, ३-पाङ्ग्रे, ४-पाङ्ग्रे सवारी साधन, लाइट कमर्शियल भेहिकल, अटो कम्पोनेन्ट्स, ग्यारेज उपकरण तथा वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरूका लागि छुट्टै समूह विभाजन गरिएको छ। सहभागीहरूले सोहीअनुसार रजिस्ट्रेशन गर्न सक्नेछन्।
नाडा अटो शो समितिका सहसंयोजक अनुपकुमार बरालका अनुसार भारत, चीन लगायतका अटोमोबाइल कम्पनीहरूबाट पनि सहभागिताका लागि चासो देखिएकाले यस वर्ष अघिल्लो भन्दा छिट्टै रजिस्ट्रेशन खोलिएको हो। उनले नाडा अटो शोले राजस्व संकलन, रोजगारी सिर्जना तथा सवारी साधन उद्योगका व्यवसायी, कर्मचारी र उपभोक्ताहरूलाई नवीनतम प्रविधिसँग साक्षात्कार गराउने विश्वास व्यक्त गरे।



















प्रतिकृया