आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल बिस्तारै बढ्दै गएको छ। यहाँका केही मतदाता जिल्ला बाहिर भएकाले निर्वाचनले अपेक्षित गति नलिँदा निर्वाचन ‘हिउँदयामको हिउँ जस्तै जमेर’ बसेको छ।
अक्सर अघिल्ला स्थानीय तह निर्वाचन र सङ्घीय तथा प्रादेशिक निर्वाचन वैशाख/जेठ र कात्तिक/मङ्सिर महिनामा हुने भए पनि यसवर्ष जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिएको हो। जिल्लामा हिउँदयामको जाडो कटाउन यहाँका अधिकांश नागरिक कात्तिक / मङ्सिर महिनामा बेसी झरेर चैत/वैशाख महिनामा गर्मी सुरु भएपछि उकालो उक्लिने परम्परा छ। घोषित निर्वाचनलाई सफल पार्नुपर्ने दायित्व सरोकारवाला निकायको काँधमा छ।
यहाँका कतिपय मतदाता पोखरा र काठमाडौँ लगायतका स्थानमा अस्थायी बसोबास गरेका छन्। मुस्ताङमा बर्सेनि हिउँदयाममा जाडो छल्न बेसी झर्ने परम्परा र संस्कृतिको रुपमा चल्दै आएको छ। मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेसी झरेकाले जिल्लाको दलहरूको निर्वाचन गतिविधिमा कमी आएको छ। जिल्लास्थित नेपाल–चीन सीमावर्ती गाउँपालिका अन्तर्गत लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ८० प्रतिशत मतदाता मङ्सिर महिना अगावै जाडो छल्न बेसीमा झरेका छन्, लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिएका छन्।
आसन्न निर्वाचन नजिकिँदै भए पनि मतदाता बेसीमै रहेकाले जिल्लामा निर्वाचनको सरगर्मी नतातिएको अध्यक्ष विष्टले बताएका छन्। यतिबेला माथिल्लो मुस्ताङका मतदाता मात्रै नभई तल्लो मुस्ताङका करिब ५० प्रतिशत भन्दा बढी मतदाता जाडो छल्न बेसी झरेका छन्। पर्यटकीय ‘अफसिजन’ र कतिपय किसानले स्याउ बगैंचा व्यवस्थापन सकेर तल्लो क्षेत्रका मतदाता बेसीमा झरेका हुन्।
आसन्न निर्वाचनका लागि दुई साताअघिदेखि विभिन्न राजनीतिक दलका उम्मेदवारले मनोनयपत्र दाखिला गरेका भए पनि उम्मेदवार र राजनीतिक दलको निर्वाचन प्रचारप्रसार लगायतका गतिविधि सुस्त देखिएको छ। जिल्लामा मतदाता कम भएपछि राजनीतिक दलका उम्मेदवार मतदाता खोज्न बेसीमा झरेका छन्। तर यहाँ स्थानीय मतदाता र राजनीतिक दलका उम्मेदवार नभए पनि स्थानीय प्रशासन, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयले आफ्नो आन्तरिक निर्वाचन तयारी अघि बढाइरहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिएका छन्।
उहाँका अनुसार सुरक्षा निकायले निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरीको व्यवस्थापन र तालिम अघि बढाइरहेको छ र जिल्लास्थित सुरक्षा समितिले मतदान केन्द्र तथा मतदानस्थलको निरन्तर अनुगमन गरिरहेको छ। निर्वाचनका लागि निर्वाचन सुरक्षा योजना तयार भइसकेको निर्वाचन अधिकारी ज्ञवालीले उल्लेख गरेका छन्।
जिल्लाका अधिकांश मतदाता यतिबेला पोखरा र काठमाडौँ लगायतका स्थानमा भएकाले निर्वाचनको मितिमा मतदातालाई जिल्ला फर्काउन समस्या रहेको राजनीतिक दलका प्रतिनिधि र उम्मेदवार बताउँछन्। निर्वाचन कार्यतालिका भए पनि जिल्लाका कतिपय मतदाता निर्वाचनको समयमा जिल्ला फर्किन तयार छैनन्।
फागुन महिनामा पनि मुस्ताङमा चिसो कायमै रहने भएकाले यहाँका मतदाता वैशाख महिनामा मात्रै जिल्ला फर्किने योजना बनाएका छन्। नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचनले आफू र आफ्नोतर्फबाट निर्वाचन प्रचारप्रसारको काम सुरु गरेको नभएको जानकारी दिएका छन्। हिमालका मतदाता बेसीमा रहेकाले बेसीमै बसेर मतदातासँग सामान्य भेटघाट गरेका छन्।
उम्मेदवार गौचनले भने, “मुस्ताङमा जाउँ सुनसान छ, सबै मतदाता बेसीमै हुनुहुन्छ। मतदाता जिल्लामा नफर्किएसम्म जिल्लामा निर्वाचनको सरगर्मी चल्दैन, यसैले फागुन लागेपछि मात्रै जिल्ला फर्किएर प्रचारप्रसारमा जुट्ने योजना बनाएको छु।”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दर्ता गराएका अर्का उम्मेदवार अधितीयचन्द्र थकाली पनि जिल्लाका मतदाता भेट्न बेसी झरेका छन्। जिल्ला मतदाता जिल्ला बाहिर भएकाले बेसीमै बसेर भेटघाट गरेका छन्। उहाँले भने, “मतदाता कहाँ बस्छन् पहिल्याउनै मुस्किल छ, तैपनि फोन सम्पर्क गरेर मतदाता बसेको ठाउँमा पुग्ने प्रयास गरेका छौँ। जिल्लाका समसामयिक समस्या र पार्टीको एजेन्डाबारे मतदातालाई जानकारी गराएर मत माग्ने काम गरिरहेका छौँ।”
जिल्लाका समस्या र चुनौतीलाई ध्यानमा राखेर उम्मेदवार र पार्टीका नीति तथा कार्यक्रम र घोषणापत्र गाउँ–गाउँमा पुगाएर जनता समक्ष प्रस्तुत गर्नुपर्ने भए पनि जिल्लामा केही मतदाता जिल्ला बाहिर रहेकाले निर्वाचन प्रचारप्रसारमा समस्या देखिएको नेकपा (एमाले)बाट उम्मेदवारी दिएका ईन्द्रधारा ढाडु विष्टले जानकारी दिएका छन्। उनले जिल्ला मतदाता बेसीमा को कहाँ बस्छन् भन्ने खोजी गर्दै हिँड्नुपरेको पनि बताए।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार ङुटुक गुरुङले जिल्लाको निर्वाचन प्रचारप्रसारका लागि काठमाडौँ गएको बताए। जिल्लामा मतदाता नभएकोले बेसीमै बसेर जिल्लाका मतदाता भेटेर मत माग्ने काम गरिरहेको उल्लेख गरे। “जिल्लामा गएर निर्वाचन प्रचारप्रसार गरौँ भने उता कोही छैनन्, बरु यतै समाजघर र मुस्ताङी बस्ने ठाउँ खोजी भोटको अपिल गरिरहेको छु। फागुन लागेपछि विस्तारै मतदाता जिल्ला फर्किन थाल्छन्, त्यसपछि जिल्ला फर्किएर प्रचारप्रसार गर्छु।”
जिल्लामा आठ राजनीतिक पार्टीले आसन्न निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्। यहाँ नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), उज्यालो नेपाल, आम जनता पार्टीले उम्मेदवारी दिएका छन्।
जिल्लाका बेसी झरेका मतदातालाई जिल्ला फर्काएर मतदान कार्यक्रममा उपस्थित गराउन राजनीतिक दलका उम्मेदवारलाई हम्मे पर्ने देखिन्छ। जिल्लाका पाँच स्थानीय तहमा गरी कूल ११ हजार ३२८ जना मतदाता छन् भने मतदानका लागि ३९ मतदान केन्द्र तथा मतदानस्थल कायम गरिएको छ।


















![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया