सांसद महावीर पुनले माध्यमिक विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षा लागू गर्ने विषयमा प्रगति नभएको भन्दै असन्तुष्टि जनाएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस विषयमा कुनै काम अगाडि नबढेको भन्दै सरकारी संयन्त्रप्रति आक्रोश व्यक्त गरेका हुन्।
पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहेका पुनले आफ्नो कार्यकालमै हरेक माध्यमिक विद्यालयमा १०० पूर्णाङ्कको अनिवार्य कम्प्युटर विषय लागू गर्ने तयारी अघि बढाएको बताएका छन्। उनका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार गर्न, पाठ्यक्रम विकास केन्द्रमार्फत पाठ्यपुस्तक विकास गर्न तथा शिक्षक सेवा आयोगलाई कम्प्युटर शिक्षकको परीक्षा सञ्चालन गर्न निर्देशन दिइएको थियो।
त्यसैगरी, कम्प्युटर शिक्षकको दरबन्दी व्यवस्थापनका लागि अर्थ मन्त्रालयका मन्त्री र सचिवसँग समन्वय गरी आवश्यक निर्णयसमेत गराएको उनले उल्लेख गरेका छन्। तर ती निर्णयहरू कार्यान्वयन नभएको भन्दै पुनले निराशा व्यक्त गरेका छन्। “उतिबेला काम सुरु गरिसकेका थिए । त्यसैले मैले काम भयो होला भन्ने ठानेको थिएँ । तर केही पनि भएको रहेनछ ,” उनले लेखेका छन्।
अब सम्बन्धित निकायका अधिकारीहरूलाई शिक्षा समितिमा बोलाएर यस विषयमा जवाफ माग्ने र आवश्यक छानबिन गर्ने तयारीमा रहेको पनि उनले स्पष्ट पारेका छन्।


प्रतिकृया