श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितबाट प्राप्त हुने उजुरी वा निवेदन कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीले प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्नुपर्ने निर्देशन जारी गरेको छ।
विभागले आफ्ना मातहतका सबै श्रम तथा रोजगार कार्यालय तथा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र गर्दै सेवाग्राहीको गुनासो तत्काल सम्बोधन गर्न र त्यसको जानकारी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउन निर्देशन दिएको हो।
विभागका अनुसार हेल्लो सरकार, मन्त्रालय, विभाग वा कार्यालयमा सिधै दर्ता भएका उजुरी समयमै सम्बोधन नभएको, कर्मचारीबाट उचित व्यवहार नपाएको तथा न्याय प्राप्तिमा ढिलाइ भएको भन्दै श्रममन्त्रीसमक्ष गुनासो पुगेपछि यस्तो निर्देशन जारी गरिएको हो।
निर्देशनअनुसार श्रमिकको उजुरी वा निवेदन प्राप्त भएको एक घण्टाभित्र आवश्यक प्रक्रिया अघि बढाई त्यसबारे सेवाग्राहीलाई जानकारी गराउनुपर्नेछ। साथै, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र निजामती सेवा ऐन, २०४९ बमोजिम कर्मचारीले आफ्नो जिम्मेवारी र आचरणको पूर्ण पालना गर्नुपर्ने उल्लेख गरिएको छ।
यदि कुनै विषय सम्बन्धित कार्यालयको क्षेत्राधिकारभित्र नपर्ने भएमा त्यसबारे तत्काल सेवाग्राहीलाई जानकारी गराई सम्बन्धित निकायमा पठाउनुपर्ने व्यवस्था पनि निर्देशनमा समावेश गरिएको छ।
त्यसैगरी, श्रमिकका उजुरीमा सम्बन्धित प्रतिष्ठानबाट समयमै प्रतिक्रिया लिने, श्रम कानुनअनुसार वार्ताको व्यवस्था गर्ने तथा वार्ताबाट समाधान नभएमा कार्यालयले यथाशीघ्र निर्णय गर्नुपर्ने उल्लेख छ। श्रम अदालत तथा कार्यालयबाट भएका आदेश वा निर्णय समयमै कार्यान्वयन गर्न पनि विभागले निर्देशन दिएको छ।
विभागले हेल्लो सरकारमार्फत प्राप्त गुनासो सम्बोधन भएपछि त्यसको जानकारी पनि यथाशीघ्र अद्यावधिक गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ।




















प्रतिकृया