नेपालको सेयर बजारमा १५% घटबढको व्यवस्था उपयुक्त छ ? [भिडियोसहित]

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ८ गते

नेपाली सेयर बजारका अनुभवी विश्लेषक सुवास चन्द्र ढुंगानाले २०८२ सालको बजारलाई समीक्षा गर्दै यसलाई ‘मिश्रित’ वर्षको रूपमा चित्रण गरेका छन्। उनको विश्लेषण अनुसार नेप्से सूचक २६७० बाट सुरु भई २८३३ मा बन्द हुँदा समग्रमा ६ प्रतिशतको सामान्य वृद्धि देखिए पनि केही निश्चित स्टकहरूले भने लगानीकर्तालाई ७० देखि १०० प्रतिशतसम्मको उल्लेख्य प्रतिफल दिएका छन्। ढुंगानाका अनुसार बजारमा सफल हुन केवल तथ्याङ्क र प्राविधिक चार्ट (What) मात्र हेरेर पुग्दैन, बजारको मुभ पछाडिको कारण (Why) र लगानीकर्ताको मनोविज्ञान (Mindset) बुझ्न झनै आवश्यक छ। बजारमा कमाउन ८० प्रतिशत भूमिका माइन्डसेटको हुने तर्क गर्दै उनले माथिल्लो मूल्य आफ्नो नियन्त्रणमा नहुने भएकाले लगानीकर्ताले जहिले पनि आफ्नो ‘रिस्क’ र ‘स्टप लस’ (Stop Loss) लाई मात्र नियन्त्रणमा राख्न सक्ने बताए।

नेप्सेले हालै ल्याएको १५ प्रतिशतको सर्किट ब्रेकर नियमका बारेमा टिप्पणी गर्दै ढुंगानाले यसलाई बजारलाई चलायमान बनाउने सकारात्मक कदमको रूपमा व्याख्या गरेका छन्। उनले भने, “नियमक निकायले ल्याएको यो परिवर्तनले बजारमा तरलता बढाउन र समयको बचत गर्न मद्दत गर्छ।” धेरैले यसलाई जोखिमपूर्ण भने पनि ढुंगानाले यसले ‘टाइम करेक्सन’ को साटो ‘प्राइस करेक्सन’ छिटो गराएर लगानीकर्तालाई छिटो निर्णय लिने अवसर दिने बताए। उनले नेपाली बजार अझै पनि ‘समाजवादी’ सोचबाट ग्रसित रहेको भन्दै अब पुँजीवादी र आधुनिक औजारहरू जस्तै इन्ट्राडे कारोबार र सर्ट सेलिङमा जोड दिनुपर्ने बताए।

ढुंगानाले लिडर स्टक पहिचान गर्ने आफ्नो विशेष सुत्र पनि साझा गरेका छन्। उनका अनुसार जसले आफ्नो सेक्टर वा नेप्से भन्दा पहिले नै ब्रेकआउट दिन्छ र जसमा आरएसआई (RSI) जस्ता इन्डिकेटरमा बुलिस डाइभर्जेन्स देखिन्छ, त्यस्ता स्टकले ठूलो मुभ लिने सम्भावना रहन्छ। उनी व्यक्तिगत रूपमा आरएसआईलाई १० मा ८ देखि ९ अंकको रेटिङ दिन्छन् र यसलाई सबैभन्दा महत्वपूर्ण इन्डिकेटर मान्छन्। अल-टाइम हाई (३२२७ विन्दु) ब्रेक हुने कुरामा धेरैको चासो रहेको सन्दर्भमा उनले विगतको इतिहास केलाउँदै एउटा बुलको टप तोड्न औसतमा ६ देखि ७ वर्ष लाग्ने गरेको स्मरण गराए। हालको चक्र करिब ५६ महिनाको मात्र भएकोले बजार अहिले नै निरासाजनक अवस्थामा नरहेको र ३२२७विन्दु ब्रेक हुनुअघि नै बजारले ठूलो वृद्धि लिइसकेको हुने उनको विश्लेषण छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स