स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाबाट प्रभावित स्थानीय बासिन्दालाई आयोजनाको १० प्रतिशत सेयर प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमै उपलब्ध गराउन माग गरेको छ।
आइतबार जारी विज्ञप्तिमा इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले धितोपत्र दर्ता तथा निष्काशन नियमावलीअनुसार स्थानीयलाई छुट्याइएको सेयर अंकित मूल्यमै दिनुपर्ने बताएका छन्। केही प्रवर्धक कम्पनीले स्थानीयका लागि प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने तयारी गरिरहेको चर्चाबीच इप्पानले यस्तो धारणा सार्वजनिक गरेको हो।
इप्पानका अनुसार आयोजना निर्माणका क्रममा स्थानीयले जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव भोग्ने भएकाले उनीहरूलाई आयोजनाको स्वामित्वमा सहज रूपमा सहभागी गराउनु सेयरको मुख्य उद्देश्य हो। प्रिमियम मूल्यमा सेयर निष्काशन गर्दा स्थानीयको पहुँच घट्ने र आयोजनाप्रतिको अपनत्व कमजोर हुने इप्पानको भनाइ छ।
इप्पानले सेयर निष्कासन प्रक्रियामा भइरहेको ढिलाइप्रति पनि चिन्ता व्यक्त गर्दै यसलाई सरल, पारदर्शी र समयबद्ध बनाउन सरकार तथा नियामक निकायसँग आग्रह गरेको छ। साथै, आफ्ना सदस्य कम्पनीहरूलाई पनि स्थानीयलाई अंकित मूल्यमै सेयर उपलब्ध गराउने नीति अपनाउन अनुरोध गरेको छ।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया