सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]

Advertisement Ads

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आधारभूत सेयरधनीले सेयर बिक्री गर्नुअघि १५ दिन अगावै सूचना दिनुपर्ने व्यवस्थाबारे लगानीकर्ता प्रतिनिधिहरूसँग छलफल गरेको छ। करिब तीन घण्टा चलेको छलफलमा उक्त व्यवस्थाबाट सिर्जित अन्योल, संस्थापक सेयरको कारोबार तथा दोस्रो बजारका लगानीकर्तामा पर्न सक्ने प्रभावबारे छलफल भएको छ।

छलफलपछि लगानीकर्ता प्रतिनिधिहरूले सेबोनले आफूहरूले राखेका सुझावलाई सकारात्मक रूपमा लिएको र आवश्यक सुधारसहित छिट्टै निर्णय सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको बताएका छन्। छलफलमा सेबोनका कार्यकारी निर्देशक रुपेश केसीलगायत अधिकारी सहभागी थिए।

तिलक कोइराला : दोस्रो बजारबाट खरिद गर्नेमा व्यवस्था लागू हुनु हुँदैन

लगानीकर्ता तिलक कोइरालाले १५ दिने सूचना दिएर तीन महिनाभित्र आधारभूत सेयरधनीले सेयर बिक्री गर्नुपर्ने व्यवस्था दोस्रो बजारबाट सेयर खरिद गर्ने लगानीकर्ताको हकमा लागू हुन नहुने बताए।

उनका अनुसार संस्थापक सेयरबाट परिवर्तन भएर लक–इन अवधि खुलेका सेयर ठूलो मात्रामा बिक्री गर्नुपर्ने अवस्थामा अफर फर सेल, बल्क कारोबारलगायतका माध्यमबाट बिक्री गर्ने विकल्प दिनुपर्छ।

Advertisement Ads

“संस्थापकबाट परिवर्तन भएको सेयर बेच्न पाइँदैन भन्ने पनि होइन, उनीहरूले बेच्न पाउनुपर्छ,” कोइरालाले भने, “तर कम्पनीको व्यवसायको निरन्तरता, स्थायित्व, वृद्धि र विकास तथा संस्थागत सुशासनमा पनि ध्यान दिनुपर्छ।”

कोइरालाका अनुसार सेबोनले आफूहरूले राखेको विषयलाई सकारात्मक रूपमा लिएको छ। बोर्डले छिट्टै निर्णय गरेर सार्वजनिक जानकारीमा ल्याउने प्रतिबद्धता जनाएको उनले बताए।

उनले छलफलको निष्कर्षलाई अहिले पुँजी बजारमा देखिएको समस्याको निराकरणका लागि सेबोनले छिट्टै परिणाम देखिने गरी निर्णय सार्वजनिक गर्ने प्रतिबद्धताका रूपमा व्याख्या गरे।

घनश्याम पाण्डे : अध्यक्ष फर्किएपछि आवश्यक सुधारबारे निर्णय हुने

लगानीकर्ता घनश्याम पाण्डेले सेबोनका अध्यक्ष हाल बाहिर रहेकाले उहाँ फर्किएपछि बोर्ड बैठक बसेर आवश्यक सुधारका विषयमा छलफल गर्ने आश्वासन पाएको बताए।

“उहाँ आएपछि बोर्डको मिटिङ राखेर यो जति पनि करेक्सन गर्ने कुराहरू छन्, त्यसमा छलफल गरेर चाँडै सार्वजनिक गर्छौं भन्ने प्रतिबद्धता दिनुभएको छ,” पाण्डेले भने।

पाण्डेका अनुसार लगानीकर्ता पक्षको मुख्य माग संस्थापक सेयर र दोस्रो बजारमा कारोबार हुने सेयरको परिभाषासँग सम्बन्धित थियो। तर त्यसबाहेक पुँजी बजार सुधारका अन्य विषय पनि छलफलमा उठाइएको उनले बताए।

उनले संस्थापक सेयर, दोस्रो बजारमा आउने सेयर, कम्पनीको सुशासन, आईपीओ जारी गर्ने व्यवस्था तथा आईपीओका लागि सहजीकरण र नीति–नियममा सुधार गर्नुपर्ने विषयमा समेत एकमुष्ट सुझाव दिएको बताए।

“यी सबै कुराहरू एकमुष्ट हामीले सुझावका रूपमा दिएका छौँ। उहाँहरूले सकारात्मक रूपमा ग्रहण गर्नुभएको छ,” पाण्डेले भने।

सेबोन अध्यक्ष फर्किएपछि तुरुन्त बैठक राखेर आवश्यक सुधार गरी अगाडि बढ्ने आश्वासन पाएको भन्दै पाण्डेले यस विषयमा सकारात्मक निर्णय आउने अपेक्षा व्यक्त गरे।

दीपक रत्न शाक्य : ठूलो परिमाणको सेयर नियमित टीएमएसबाटै बिक्री गर्न खोज्दा समस्या आउन सक्छ

लगानीकर्ता दीपक रत्न शाक्यले अहिलेको व्यवस्थाले दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्तामा समेत अन्योल सिर्जना गरेको बताए।

उनका अनुसार टीएमएस दोस्रो बजारमा कारोबार गर्न प्रयोग हुने माध्यम हो। कुनै कम्पनीमा पहिले करिब १५ प्रतिशत मात्रै सेयर फ्लोट रहेको अवस्थामा एकैपटक ठूलो परिमाणमा, उदाहरणका रूपमा ८५ प्रतिशतसम्म सेयर बजारमा आउँदा नियमित टीएमएसमार्फत मात्रै बिक्री गर्न खोज्दा कारोबार प्रणालीमा समस्या आउन सक्ने उनको भनाइ छ।

“कसैको सम्पत्ति बिक्री गर्न पाउने अधिकार हामीले रोक्नु हुँदैन। त्यो संवैधानिक अधिकार हो,” शाक्यले भने।

तर ठूलो परिमाणमा सेयर बजारमा आउँदा त्यसलाई व्यवस्थापन गर्न नियमित टीएमएसबाहेक अन्य माध्यमको विकल्प पनि आवश्यक रहेको उनले बताए।

शाक्यले दैनिक औसत कारोबार कति हुन्छ र बजारमा आउने सेयरको परिमाण कति हुन्छ भन्ने अनुपातसमेत हेर्नुपर्ने बताए। असामान्य रूपमा ठूलो परिमाणको सेयर बजारमा आउँदा त्यसलाई नियमित टीएमएस कारोबारबाहेक अन्य माध्यमबाट व्यवस्थापन गर्ने प्रणाली रहेको उनले बताए।

शाक्य : नियमको उद्देश्य सूचना पहुँचमा हुने असमानता घटाउनु हो

शाक्यका अनुसार अहिलेको व्यवस्थाको मुख्य उद्देश्य सूचनामा बढी पहुँच भएका व्यक्ति र सर्वसाधारणबीचको असमानता कम गर्नु हो।

सूचनामा बढी पहुँच भएका लगानीकर्ता बढी लाभान्वित हुने र कम पहुँच भएका सर्वसाधारण लगानीकर्ता नोक्सानमा पर्ने अवस्था नआओस् भन्ने अवधारणाअनुसार सेबोनले व्यवस्था अघि बढाएको उनले बताए।

उनले सेबोनले गर्न लागेको कामलाई समर्थन गर्नुपर्ने तर कार्यविधिमा देखिएका व्यवहारिक कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने धारणा राखे।

“उहाँहरूले गर्न लाग्नुभएको काममा हामीले पूर्ण समर्थन र सहयोग गर्नुपर्छ। कार्यविधिमा भएका कमजोरीहरूलाई सच्याउँदै अगाडि बढ्नुपर्छ,” शाक्यले भने।

उनका अनुसार छलफलमा सेबोनका अधिकारीहरूले व्यवहारिक समस्याबारे जानकारी लिएका छन्। अब सम्बन्धित नियम तथा कानुनी व्यवस्थाअनुसार के गर्न सकिन्छ भन्ने विषयमा सेबोनले आफ्नो धारणा सार्वजनिक गर्ने अपेक्षा लगानीकर्ता पक्षको छ।

शाक्यले सेबोनबाट छिट्टै निर्णय आएर बजारमा देखिएको अन्योल हट्ने अपेक्षा व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स