सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) बमोजिम मंगलबार गरेको निर्णयअनुसार ती कम्पनीहरूलाई कालोसूचीमा समावेश गरेको जनाएको छ।
सूचनाअनुसार दोलखास्थित ओमबुद्ध कन्स्ट्रक्सन प्रा.लि. सबैभन्दा लामो अवधिका लागि अर्थात् ३ वर्षसम्म कालोसूचीमा परेको छ। यस्तै, चितवनको लोहनी एण्ड ब्रदर्श प्रा.लि., सुर्खेतको सेभिका कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सल्टेन्सी तथा कैलालीको राजेन्द्र/थेगिम जेभीलाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ।
त्यसैगरी जाजरकोटको कृष्ण कन्स्ट्रक्सन, कैलालीको सेभिका/बेहडाबाबा जेभी, जाजरकोटकै विजयश्वरी निर्माण सेवा, सर्लाहीको दिनकर कन्स्ट्रक्सन प्रा.लि. र इलामको ललिता अम्बाय सप्लायर्स एण्ड कन्स्ट्रक्सन कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ।
यी कम्पनीहरूलाई विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा कारबाही गरिएको कार्यालयले जनाएको छ।
कालोसूचीमा परेको अवधिभर ती निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले देशभरका कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रिया, ठेक्का वा बोलपत्रमा सहभागी हुन पाउने छैनन्।


प्रतिकृया