सरकारले आयुभन्दा उपलब्धिहरूको चर्चा गरोस् : सांसद झा

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १४ गते
सरकारले आयुभन्दा उपलब्धिहरूको चर्चा गरोस् : सांसद झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारले आफ्नो आयुभन्दा बढी आफ्ना उपलब्धीहरूको चर्चा गर्नुपर्ने सुझाव दिएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारका कामकारबाहीको परिणाम जनता समक्ष प्रस्तुत गर्नुपर्ने बताए। झाले सरकार ढल्छ कि नढल्दैन भन्ने चर्चाभन्दा नागरिकलाई देखिने गरी परिणाम दिनु जरुरी भएको बताए। उनले भने, “सरकारले यति महिनामा यति–यति काम गर्‍यो भनेर परिणाम सुनाएको भए अझ राम्रो हुनेथियो।”

प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक सरकार नढल्ने अभिव्यक्ति दिएको प्रसंग उठाउँदै झाले प्रतिपक्षको बेञ्चबाट सरकार नढल्नुपर्ने शुभकामना दिएका छन्। उनले भने, “प्रधानमन्त्रीज्यूबाट यो सरकार ढल्दैन भन्ने अभिव्यक्ति सुनिरहेका छौँ। प्रतिपक्षको बेञ्चबाट भन्न चाहन्छु – यो सरकार ढल्नु हुँदैन, यो सरकार, गठबन्धन अझै लामो समयसम्म निरन्तर चलिरहोस् भन्ने शुभकामना दिन्छु।”

झाले सरकारको अस्तित्वभन्दा पनि गठबन्धनको अवस्था कमजोर हुँदै गएको देखिएको टिप्पणी गरे। उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमति सत्तासाझेदार दलहरूले नै बिर्सिएको आरोप लगाए।

उनले सहमतिका बुँदाहरूलाई स्मरण गर्दै सहकारीको समस्या समाधान गर्ने नाममा नयाँ दलका नेतालाई थुन्ने काम भएको बताए। उनले स्थानीय तहलाई सहजीकरण गर्ने नाममा स्वतन्त्र जनप्रतिनिधिहरूलाई अवरोध गरिएको र काम गरिरहेका इमानदार अधिकारीहरूलाई हटाइएको टिप्पणी गरे।

झाले गभर्नर नियुक्तिमा दक्षता र क्षमताको मूल्याङ्कनभन्दा भागबन्डा र बिचौलियाको आधारमा निर्णय भएको आरोप पनि लगाए। संसदलाई सक्रिय बनाउनुको सट्टा सकेसम्म छोटो समयका लागि मात्र सञ्चालन गरिएको र विभिन्न पक्षलाई व्यवस्थाप्रति असन्तुष्ट बनाउने वातावरण सिर्जना गरिएको समेत उनले बताए।

उनले शिक्षकहरूलाई सडकमा आउनुपर्ने अवस्था सिर्जना गरिएकोप्रति पनि गम्भीर ध्यानाकर्षण गराएका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स