सरकारी सेवा जागिर होइन, राष्ट्र निर्माणको अवसर हो: ऊर्जामन्त्री श्रेष्ठ

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १८ गते
सरकारी सेवा जागिर होइन, राष्ट्र निर्माणको अवसर हो: ऊर्जामन्त्री श्रेष्ठ
AdvertisementAds

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार विकास र सार्वजनिक सेवाको गुणस्तर दक्ष, इमानदार तथा उत्तरदायी इन्जिनियरहरूको भूमिकामा निर्भर रहने बताएका छन्।

जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रले आयोजना गरेको नवप्रवेशी युवा इन्जिनियरहरूको तालिम कार्यक्रममा मन्त्री श्रेष्ठले सरकारी सेवामा प्रवेश केवल जागिरको सुरुआत नभई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने ऐतिहासिक अवसर भएको बताए।

उनले अब प्राविधिक जनशक्ति मात्र नभई राष्ट्रसेवकको भूमिकामा प्रवेश गरेको उल्लेख गर्दै प्रत्येक निर्णय, प्राविधिक सुझाव र कार्यले लाखौँ नागरिकको जीवनमा प्रभाव पार्ने भएकाले उच्च जिम्मेवारीबोधका साथ काम गर्नुपर्नेमा जोड दिए।

मन्त्री श्रेष्ठले सडक, पुल, विद्युत् आयोजना, प्रसारण लाइन, सिँचाइ प्रणाली, खानेपानी पूर्वाधार तथा आधुनिक सहर निर्माणजस्ता विकासका आधार इन्जिनियरहरूको ज्ञान, सिर्जनशीलता र परिश्रमको परिणाम भएको बताए। इन्जिनियरिङ केवल गणित र विज्ञानको प्रयोग नभई समस्यालाई समाधानमा रूपान्तरण गर्ने सिर्जनात्मक क्षेत्र भएको उनको भनाइ थियो।

नेपाल ऊर्जा उत्पादन विस्तार, स्वच्छ ऊर्जा प्रवर्द्धन, अन्तरदेशीय विद्युत् व्यापार, सिँचाइ विस्तार तथा जलवायु परिवर्तनअनुकूल पूर्वाधार निर्माणको चरणमा रहेको उल्लेख गर्दै उनले यी लक्ष्य दक्ष, प्रतिबद्ध र इमानदार प्राविधिक जनशक्तिको योगदानबिनाको सम्भव नहुने बताए।

मन्त्री श्रेष्ठले प्राविधिक दक्षतासँगै नैतिकता, पारदर्शिता, उत्तरदायित्व र सार्वजनिक हितलाई कार्यसंस्कृतिको केन्द्रमा राख्नुपर्नेमा जोड दिए। साथै, नयाँ प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई निरन्तर आत्मसात् गर्दै गुणस्तरीय र दिगो पूर्वाधार निर्माणमा विशेष ध्यान दिन नवप्रवेशी इन्जिनियरलाई आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स