श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरीले विभिन्न सीपमूलक तालिम निःशुल्क रूपमा सञ्चालन गर्ने भएको छ। केन्द्रले २०८३ वैशाख २५ गते सूचना प्रकाशित गर्दै इच्छुक नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरेको हो। सूचनाअनुसार कुक, विद्युत जडान (एडभान्स), वेटर/वेट्रेस तथा सेक्युरिटी गार्ड सम्बन्धी तालिम सञ्चालन गरिनेछ। तालिमको अवधि २७ देखि ३३ कार्य दिनसम्म रहनेछ भने सहभागीका लागि न्यूनतम ८ कक्षा उत्तीर्ण योग्यता तोकिएको छ। विद्युत जडान (एडभान्स) तालिमका लागि भने बेसिक विद्युत जडान तालिम लिएको प्रमाणपत्र अनिवार्य गरिएको छ।
कुक तालिमका लागि २० जना प्रशिक्षार्थी छनोट गरिनेछ भने तालिम व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरी मै सञ्चालन हुनेछ। विद्युत जडान (एडभान्स) तालिम सुन्दरहरैंचा नगरपालिका–७, गोठगाउँमा तथा वेटर/वेट्रेस तालिम सुन्दरहरैंचा–१२, विराटचोकमा सञ्चालन गरिनेछ। त्यस्तै, सेक्युरिटी गार्ड तालिम मैवाखोला गाउँपालिका क्षेत्रभित्र सञ्चालन हुने जनाइएको छ। आवेदन फारम २०८३ जेठ ८ गतेभित्र सम्बन्धित स्थानमा बुझाउनुपर्नेछ। विद्युत जडान (एडभान्स) तालिमको अन्तर्वार्ता २०८३ जेठ ११ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म तथा वेटर/वेट्रेस तालिमको अन्तर्वार्ता सोही दिन दिउँसो २ बजेदेखि ५ बजेसम्म हुने जनाइएको छ।
तालिममा सहभागी हुन इच्छुक उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। आवेदनका साथ नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्र, तीन प्रति पासपोर्ट साइज फोटो तथा आवश्यक कागजात बुझाउनुपर्ने व्यवस्था गरिएको छ। विपन्न, दलित, अपाङ्ग, सहिद परिवार, एकल महिला तथा पिछडिएको क्षेत्रका व्यक्तिलाई प्राथमिकता दिइने केन्द्रले जनाएको छ। प्रशिक्षार्थीलाई दैनिक ५० रुपैयाँ खाजा भत्ता उपलब्ध गराइनेछ भने बसोबास र खानपानको व्यवस्था भने स्वयंले गर्नुपर्नेछ। थप जानकारीका लागि व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरीको वेबसाइट लागि तथा Vocational Training Centre, Itahari Facebook Page मार्फत जानकारी लिन सकिने जनाइएको छ।


प्रतिकृया